माघे शक्राती सत्यहाङमा शान्ति मकर मेलामा मन्त्री नेम्बाङ - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

माघे शक्राती सत्यहाङमा शान्ति मकर मेलामा मन्त्री नेम्बाङ

 


दमक, आज माघे संक्राति । माघ १ को बिहान सबेरै नदी, तलाउ जस्ता पवित्र स्थलमा स्नान गरी देवता र पितृहरूको सेवा गर्ने परम्परा छ ।

माघ १ गतेनै पर्ने यो पर्व एक भएपनि यसलाई मान्ने र मनाउने जाति समुदायले आ–आफ्नो तवरले मनाउने गर्दछन् ।

सनातन धर्मावलम्बीले माघे सक्राती मनाउदा थारु समुदायले यसलाई नयाँ वर्षको रूप दिएर माघीको उत्सव मनाउँदै आएका छन् । काठमाडौं उपत्यकाको नेवार समुदाय ‘घ्यो चाकु सन्हु’मा रमाउँदैछ ।

तराईमा यसलाई तिला संक्रातीको रुपमा मनाउने परम्परा छ । माघे सक्राती मगर समुदायको मुख्य पर्व हो ।

उनीहरुले यस पर्वलाई माघे सकराती भनी आजको दिनमा चेलिवेटी पुजेर मनाउने गर्छन भने लिम्बु समुदायले माघे संक्रान्तिलाई कक्फेक्वा तङनामको रुपमा मनाउँछन् ।

माघे शक्राती सत्यहाङमा शान्ति मकर मेलामा मन्त्री नेम्बाङ
माघे शक्राती सत्यहाङमा शान्ति मकर मेला खत्रक्पा र फुलुङ्गीमा यस बर्ष पनि भब्य रुपमा मेला लाग्ने भएको छ । भौतिक पुर्वाधार तथा यातायात मन्त्री बसन्त कुमार नेम्बाङको प्रमुख आतिथ्य रहने मेला आयोजक महासचिव काजी लिङ्देनले जानकारी दिएका छन् ।

राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द ज्ञान सिद्व भूमि खत्रक्पा र वर्तमान किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङको तपोभूमि फुलुङगीमा साता दिने मकर मेला लाग्ने र विशेष येत् नाम्धुङ लधुङ सेमी सेवा, विश्व शान्ति तथा मानव एकताका लागि बिषेश सेवा, सावायेहाङ आप्लुङ्गेन ताङ्सेप सेवा, अमृतमय आर्शिवचन, सावागेन युक्पुङगेम्बा पक्लुङ छेलो खेलको पुरस्कार वितरण, एकलाख आठहजार आठसय आठ दीप ज्वलन गरी धार्मिक एवम साँस्कृतिका विविध झाँकी सहित मेला लाग्ने लिङ्देनले बताए ।

माघ १ गते दोभान र त्रिवेणीमा गरिने स्नानको विशेष महत्व छ । नवलपरासीको त्रिवेणी, रिडी क्षेत्रमा रहेको रुरु तीर्थस्थल, चितवनको देवघाट, नुवाकोटको वेत्रावती आदिमा मकर स्थान गर्नेको मेला लाग्छ । यस्तै, किरात धर्मावलीको ऐतिहासिक ज्ञानभूमि खत्रक्पा र फुलुङगीको दोभानमा पनि मकर मेला लाग्दछ । झापाको पूर्व–पश्चिम राजमार्ग माईधारमा पर्ने कनकाई नदी किनारमा माई मेला लग्दछ । इलाममा पनि माइबेनी मेला लाग्ने गर्दछ । उपत्यकामा शंखमूल, वागमती आदि क्षेत्रमा पनि श्रद्धालुको घुइँचो लाग्छ ।

महिनाकै महत्त्व संक्राती मात्र होइन सनातन धर्ममा माघ महिनाकै विशेष महत्त्व भएको बताइन्छ । विवाह, व्रतबन्ध लगायतका शुभ कार्य गर्न पनि माघ उपयुक्त महिना हो । सूर्यको किरण तेजिलो हुँदै जाने, विस्तारै दिन लामो हुँदै जाने, चिसो कम हुँदै जाने लगायतका कारण पनि माघको विशेष महत्व रहि आएको छ ।

सम्बन्धित खवर