माङसेबुङ । नेपालले एसिसी पुरुष यु–१६ इस्ट जोन कपको उपाधि चुमेको छ ।
शनिबार भएको फाइनल खेलमा सिंगापुरलाई २ विकेटले पराजित गर्दै नेपालले उपाधि चुमेको हो ।
सिंगापुरले प्रस्तुत गरेको ११४ रनको लक्ष्य पछ्याएको नेपालले २९ ओभरमा ८ विकेट गुमाउँदै ११७ रन बनाएर पुरा गर्यो ।
नेपाललाई जित दिलाउन जोय थापाले अविजित रहँदै सर्वाधिक २४ रन बनाए । यस्तै अभय यादव १० रनमा अविजित रहेको खेलमा शिवान्स बजगाईंले २० रन, शुभव खनालले १८ रन, प्रशिद्ध जैशीले १७ रन र परिमार्जन यादव १३ रन बनाए ।
सिंगापुरका कपिस वैंकटरमनले सर्वाधिक ४ विकेट लिए । यस्तै युवान पाण्डे, वेदांश गुप्ता र आकाश तेजाले समान २ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङको निर्णय गरेको सिंगापुर ४०.५ ओभरमा अलआउट हुदै ११३ रन मात्र बनाउन सक्यो ।
सिंगापुरका लागि रोहन अस्टिनले सर्वाधिक २३ रन बनाए । उनले ९० भन्दा धेरै बल खेलेका थिए । रिहान नाइकले १५ रन बनाए ।
नेपालका लागि अभय यादव र सुशिल बहादुर रावलले समान ३ विकेट लिए । यस्तै शुभम खनालले २ तथा कप्तान बिपिन प्रसाद शर्माले १ विकेट लिए ।
यसअघि नेपालले सन् २०२३ मा पनि यो कपको उपाधि उचालेको थियो ।