सार्वजनिक जग्गा कब्जा आरोपी पुरी अझै फरार, प्रहरी मौन - Mangsebung News
  • बुधबार, बैशाख १९, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सार्वजनिक जग्गा कब्जा आरोपी पुरी अझै फरार, प्रहरी मौन


दमक/नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता रेवतराज पुरी (गगन) ले सार्वजनिक जग्गा किर्ते गरी व्यक्तिको नाममा ल्याएको आरोप लागे पछि फरार भएका छन् । उनलाई अहिलेसम्म पनि प्रहरीले पक्राउ गर्न सकेको छैन । पुरीकै दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले समेत उनको बारेमा ठोस धारणा सार्वजनिक गर्न सकेको छैन ।

दमक ८, बालुवाटारमा बस्दै आएका ८२ घर सुकुमबासीहरूले २०३६ साल अगाडिबाट भोगचलन गर्दै आएको जग्गा किर्ते गरी पुरीले व्यक्तिको नाममा ल्याएका थिए । २०४२ सालमा रतुवा खोलाको बाढीका कारण विस्थापित भएर उनीहरू अन्यत्र बसेको समयमा र कतिपयलाई धम्क्याएर जग्गा व्यक्तिको नाममा पारेको आरोप सुकुमबासीहरूले लगाएका छन ।

२०३६ सालमा नुवाकोटबाट झरेर दमक ८, मा बस्दै आएका तसरमान श्रेष्ठलाई २०४२ सालको बाढीले विस्थापित बनायो । श्रेष्ठको चार कठ्ठा पाँच धुर जग्गा पनि बगर बन्यो । पछि रतुवा नदीकिनारमा तटबन्ध बन्यो र जग्गा उकासियो । जग्गा उकासिएपछि उनले पुरानो ठाउँ पहिचान गरेर कटेरोसमेत बनाए । कटेरो निमार्णा्धिन अवस्थामा थियो । त्यही बेला पुरीले मान्छे लगाएर कटेरो जलाइदिएको श्रेष्ठको गुनासो छ । त्यसपछि उनले जग्गा फिर्ता पाउन अनेकौं प्रयास गरे तर सकेन्न। ‘अहिले जग्गा होइन, केही नगद दिन्छु भनिरहेका छन् । तर त्यही नगद पनि कहिले दिने हुन्, टुंगो छैन ।’

अहिले दमक–८ मा भाडामा बस्दै आएको टेकबहादुर लिम्बुको १२ कठ्ठा जग्गा उही रतुवाको बाढीले बगाएर घरबार विहीन बनायो । खोलामा बाँध बाँधियो, र पुरानै आफ्नै जग्गा भएको ठाउँमा बस्न भनेर गए । तर त्यो जग्गा पुरीको कब्जामा परिसकेका थियो ।

त्यसरी नै विष्णुमाया मगरको तीन कठ्ठा १९ धुर जमिन बालुवाटारमै थियो । उनीहरू पनि अरूजस्तै बाढीबाट पिडित बने । उनको जग्गामा पनि पुरीले कब्जा हक जमाए । त्यस्तै पीडित बुद्धिमान माझीको तीन कठ्ठा जग्गा सोही ठाउँमा थियो । माझीलाई भने पुरीले १२ धुर मात्रै दिएका छन् । ८२ परिवारले भोगचलन गरेको जग्गा पुरीले नम्बरी बनाएको आरोप पीडितहरुले लगाएको छ । पुरीले ११ बिघा जग्गा नापी र मालपोतका कर्मचारीलाई प्रभावमा पारेर किर्ते गरेको जनाएका छन ।

१७ मंसिरमा पुरीविरुद्ध सरकारी छाप र हस्ताक्षर किर्ते गरेको आरोपमा जिल्ला अदालत झापाले पक्राउ पुर्जी जारी गरेको थियो । तर अहिलेसम्म पनि पुरी फरार भएका छन् । दमक नगरपालिका–८ स्थित सार्वजनिक जमिन मालपोत र नापीका कर्मचारीसँग मिलेर व्यक्तिको नाममा पार्ने काम गरेको प्रहरीको दाबी छ ।

पुरीका विश्वासपात्र पथरी–शनिश्चरे नगरपालिका मोरङका ओमप्रकाश पौडेलको नाममा जग्गा पास गरेर हडप्ने प्रयास गरेका हुन् । पौडेल टेम्पो चालक हुन् । दुई कठ्ठा जमिन पाउने सर्तमा पुरीले सरकारी जमिन पौडेलको नाममा पास गराउने गरी काम अघि बढाएको प्रहरीको भनाइ छ । पुरीले आफ्नो नाममा ल्याएको जग्गामध्ये कित्ता नम्बर ७४ को ११ बिघा पौडेलको नाममा पास गराएका छन् ।

घटनामा संलग्न भनिएका पाँच जना भने धरौटीमा छुटेका छन्। नापी कार्यालयका सर्वेक्षक विनोद मण्डल, नापी विभागमा कार्यरत नापी अधिकृत स्टलिन भण्डारी, मालपोत कार्यालयका नायब सुब्बा कृष्ण भट्टराई र पथरी–शनिश्चरे मोरङका ओमप्रकाश पौडेल र वेदबहादुर पौडेल पक्राउ परेका थिए । पक्राउ पर्नेहरू झापा जिल्ला अदालतको आदेशले जनही तीन लाख ७५ हजार धरौटी जम्मा गरेर रिहा भएका थिए । उनीहरूसँगै नगरपालिकाका दुई कर्मचारीसमेत धरौटीमा छुटेका छन्।

यस्तै, पुरीले कांग्रेस नेता उमाकान्त आचार्य, नगर सभापति रोशन बिष्टसमेतले जग्गा किनेको भनेर फेसबुकमा लेखेका थिए । तर बिष्टले जग्गा किनेको अस्वीकार गर्दै आएका छन्।

पहिलो संविधानसभाको निर्वाचनमा इलामबाट संविधानसभाको उम्मेदवार बनेका पुरी स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रका तर्फबाट दमक नगरपालिकामा उम्मेदवार थिए । दमक–चिसोपानी–रवि सडक निर्माण समितिका अध्यक्ष समेत रहेका पुरी विगतमा रतुवा नदीकै कारण विस्थापित भएर धनकुटासमेत पुगेका थिए । हाल उनी दमकमै परिवारका साथ बस्दै आएका छन् ।

 

सम्बन्धित खवर