
माङसेबुङ । तेस्रो महागुरु फाल्गुनन्द कप २०८३ को उपाधि काका एफसी चुलाचुली इलामले चुमेको छ ।
इलामको माङसेबुङ गाउँपालिका ५ स्थित आत्मानन्द रंगशालामा मंगलबार सम्पन्न फाइनल खेलमा ब्याङडाडा एफसी दुधे झापालाई टाईब्रेकरमा ४–२ गोल अन्तरले हराउँदै काका एफसीले उपाधि चुमेको हो ।
प्रतिस्पर्धात्मक फाइनल खेलको निर्धारित समय २–२ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकर तर्फ धकेलिएको थियो । टाइब्रेकरमा काका एफसीले बाजी मारेको हो ।
उपाधि चुमेसँगै काका एफसीले ५० हजार १४२ रुपैयाँ नगद पुरस्कार सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेका छन् । उपविजेता बनेका ब्याङडाडा एफसीले भने २५ हजार १४२ रुपैयाँ नगद पुरस्कार सहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाएका छन् ।
बिजेता र उपबिजेता टिमलाई प्रमुख अतिथि माङसेबुङ गाउँपालिकाका उपाध्यक्ष बिनोद नेम्बाङले पुरस्कार प्रदान गरेका थिए ।
प्रतियोगिता किरात धर्म दर्शनदाता, महान् समाज सुधारक तथा राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देनको १४२औँ जन्मजयन्तीको अवसरमा युथ अफ माङसेबुङको आयोजनामा सम्पन्न भएको हो ।




