दमक/ गुप्ताङ्ग काटेर जलाउदै गरेको अवस्थामा फेला परेको शवबारे अनुसन्धान गर्न प्रहरीले तीनजनालाई नियन्त्रणमा लिएको छ ।
भारत विहार राज्यस्थित अररिया घर भई हाल बिर्तामोड २, चारपानेमा डेरा गरी बस्ने अन्दाजी ४० वर्षीय सुभान शेखको लिङ्ग काटी हत्या गरेको आशंकामा ती तीन जनालाई नियन्त्रणमा लिएको हो ।
झापाको विर्तामोड स्थित स्थानीय ऐनकुमारको खेतमा राखिएको परालको थुप्रोमा सोमबार राति १२ बजेदेखि आगो लागेको ठाउँमा जलेको अवस्थामा भेटिएको शव शेखको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।
प्रहरीले शेखकै ससुरा रहमान, सासू रहाना शेखसहित उनकी श्रीमती शुष्मा शेखलाई मंगलबार नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमुनीमा राखेर घटनाबारे सोधपुछ गरिरहेकोे जनाएको छ ।
परालमा जलेको अवस्थामा शव फेला पर्नु र शुष्माका श्रीमान शेख हराउनु मिलेकोले शव सुभानकै भएको आशंका गरिएको छ । उक्त घटनाको प्रकृति हेर्दा अनैतिक सम्बन्धका कारण घटेको हुन सक्ने पनि प्रहरीले आशंका गरेको छ ।
शव जलेको अवस्थामा भेटिएको स्थाननजिकै पुरुषको अण्डकोषसहितको गुप्ताङ्ग काटेर फालिएको थियो । परिवारका सदस्यले दिएको बयान र मृतकले लगाएको कपडा हेर्दा शेखकै हुनुपर्ने आशंका गरिएको छ । घटनाको प्रकृति हेर्दा हत्या गरी घटनालाई ढाकछोप गर्न शवलाई परालमा आगो लगाएर जलाईएको बताईएको छ ।