महरा निर्दोष रहेको अदालतको फैसला - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

महरा निर्दोष रहेको अदालतको फैसला


दमक/ काठमाडौं जिल्ला अदालतले पूर्वसभामुख कृष्णबहादुर महरा निर्दोष रहेको फैसला गरेको छ ।

बलात्कार प्रयासको आरोपमा पुर्पक्षमा डिल्लीबजार कारागार रहेका महरा आजै रिहा हुने भएका छन् । न्यायाधीश अम्बरराज पौडेलको इजलासले महरा निर्दोष रहेको फैसला गरेको हो ।

महराविरुद्ध सरकारी वकिलले र महराको पक्षमा वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, भीमार्जुन आचार्य, शेरबहादुर केसी, डा. दिनमणि पोखरेल, कृष्ण सापकोटा, सविता भण्डारी, लव मैनाली, मुरारी सापकोटालगायतले बहस गरेका थिए ।

संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई बलात्कार प्रयास गरेको आरोपमा महरा पक्राउ परेका हुन् । उनीविरुद्ध जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । महरा सोही प्रकरणमा मुछिएपछि गत असोज १४ गते पदबाट राजीनामा दिएका थिए भने १९ गते पक्राउ परेका थिए ।

रोशनी शाहीको प्रस्टोक्ति, महरा सरबाट ममाथि कुनै दुर्व्यवहार भएको छैन ।

जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पुगे पनि उच्च अदालत पाटनले एक महिनाभित्रै मुद्दाको टुंगो लगाउन आदेश दिएर जिल्ला अदालतको निर्णयलाई सदर गरेको थियो ।

गत असोज १९ गते पक्राउ परेका महरा कात्तिक १८ देखि पुर्पक्षका लागि डिल्लीबजार कारागार चलान भएका थिए । महरामाथि असोज १२ गते शाहीलाई बलात्कारको प्रयास गरेको आरोप लागेको थियो ।

सुरुमा महराले आफुलाई बलात्कारको प्रयास गरेको आरोप लगाएकी शाहीले त्यसपछि भने निरन्तर आरोप अस्वीकार गर्दै आएकी छन् । उनी महरा निर्दोष रहेको भन्दै जिल्ला र उच्च अदालतसमेत पुगेकी थिइन् ।

सम्बन्धित खवर