इलामको फाकफोकथुम १ को वडा कार्यालय भवन उद्घाटन - Mangsebung News
  • शुक्रबार, बैशाख ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

इलामको फाकफोकथुम १ को वडा कार्यालय भवन उद्घाटन


फाकफोकथुम / इलामको फाकफोकथुम गाउँपालिका वडा–१, ठिंगेपुरमा निर्माण सम्पन्न भएको वडा कार्यालयको भवन उद्घाटन भएको छ ।

आर्थिक वर्ष २०७५ र ०७६ मा गाउँसभाबाट विनियोजित ५३ लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न एकतले चार कोठे वडा कार्यालय भवन बुधबार उद्घाटन भएको हो ।

गत वैशाखदेखि निर्माणको काम शुरू गरिएको भवनमा खानेपानी, शौचालयको सुविधा सहित अपांगमैत्री ढंगले तयार गरिएको भवन निर्माण गर्ने जिम्मा जिआरडि कन्ट्रक्सन प्रालिले लिएको थियो ।

एक सभाहल, प्रशासन, मेलमिलाप, प्राविधिक कक्ष रहेको भवन बहुतले निर्माण गर्न सकिने गरि प्राविधिक स्टमेट गरिएको कार्यालयले जनाएको छ ।

यसैबीच वडा नम्बर १ स्थित विभिन्न कार्यालय निर्माण गर्नको लागि निस्शुल्क जग्गा प्रदान गर्नु हुने जग्गादाताहरुलाई सम्मान गरिएको छ ।

सम्मानित हुनेहरुमा वडा कार्यालको लागि निस्शुल्क ३ रोपनी जग्गा उपलब्ध गराउने सरस्वती बोहोरा र टंक माया बोहोरा रहेका छन् ।

साथै २९ लाख बजेटबाट यसै आर्थिक वर्ष भित्रमा सोही कम्पनीद्वारा निर्माण शुरु भएको उप–स्वास्थ चौकीको लागि ३ रोपनी जग्गा उपलब्ध गराउने गीता माया लिम्बू र आङ्ध्वज नेम्वाङ र खाम्बाङ खोप केन्द्र लागि एक रोपनी जग्गा उपलब्ध गराउने उदयनारायण भट्टराईलाई सम्मान गरिएको छ ।

उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि फाकफोकथुम गाउँपालिका अध्यक्ष रामकुमार श्रेष्ठ तथा विशेष अतिथि उपाध्यक्ष सरस्वती राई (सरु), प्रमुख प्रशासकीय अधिकृत रेखनाथ दहाललगायतले दोसल्ला ओढाइ सम्मान गरेको कार्यक्रमका संचालक तथा वडा सदस्य बालकृष्ण भट्टराईले जानकारी दिए ।

त्यस्तै भवन डिजाइनर गाउँपालिकाका इन्जिनियर कुशल खनाल, साइड प्राविधिक सीता राम पौडेल र किशान लिम्बू तथा ठेक्केदार कम्पनीका प्रतिनिधि टीका सम्वाहाम्फे लिम्बू र टीका बोहोरालाई समेत सम्मान गरेको थियो ।

७ वडा रहेको यस पालिकामा वडा नम्बर ६ को कार्यालय भवन यस अघि नै निर्माण सम्पन्न गरि संचालनमा रहेको छ । वडा न. २ को उद्घाटनको तयारीमा रहेको छ । अन्य ३, ४ र ७ वडाहरुको निर्माण प्रक्रिया शुरू भएको छ भने वडा नम्बर ५ को स्थान विवादका कारण स्थगित भएको गाउँपालिका कार्यालयले जनाएको छ ।

जम्मा ७ जना कर्मचारी रहेको यस वडाले गत आर्थिक वर्षमा गाउँपालिका भित्रका वडामध्ये उत्कृष्ट राजस्व संकलन गर्न सफल भएकोले गाउँपालिकाद्वारा पाँच लाख रुपैयाँले वडालाई पुरस्कृत गरेको छ ।

उक्त कार्यमा कुशल भुमिका निर्वाह गर्ने वडा सचिव तिलरुपा राई र पेमा तामाङलाई पनि सम्मान गरेको छ । उद्घाटन समारोह वडा अध्यक्ष टेकवीर लिम्बुको अध्यक्षतामा सम्पन्न भएको थियो ।

सम्बन्धित खवर