माङसेबुङ वडा न. ३ लाई विभाजन गर्न माग - Mangsebung News
  • बिहिबार, चैत १५, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

माङसेबुङ वडा न. ३ लाई विभाजन गर्न माग


इलाम/ अवैज्ञानिक तवरले राज्य पुनर्संरचनाका क्रममा वडा विभाजन गरिएको भन्दै माङसेबुङ ३ (साविक बाँझो ७ र ८) का स्थानीयले पुनर्संरचना हेरफेर गर्न माग गरेका छन् । वडा विभाजनको माग गर्दै उनीहरु इलाम सदरमुकाम पुगेका छन् ।

सेवा सुविधा प्राप्त गर्न असहज भएको भन्दै वडा विभाजनका लागि विहीबार सदरमुकाममा पत्रकार सम्मेलन गरी सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । उनीहरुले यसअघि माङसेबुङ ३ नम्बर वडा कार्यालय, माङसेबुङ गाउँपालिका र जिल्ला समन्वय समिति इलाममा समेत वडा विभाजनका लागि ज्ञापनपत्र बुझाइसकेका छन् ।

वडा विभाजन तथा संख्या थप सुझाव समिति नै गठन गरी शान्तिपूर्ण रुपमा सम्बन्धित निकायमा दवाव सिर्जना गरिरहेको समितिका संयोजक हर्कप्रसाद साम्बाले बताए ।

भौगोलिक वनावट बेमेल र विकट रहेकोले वडावासी नागरिकहरुको दैनिक वडा कार्यालयबाट पाउने सुविधा प्राप्त गर्न कठिन भएको र विकास निर्माणमा समेत असुविधा रहेकाले सो वडा विभाजन दुई वटा वडा बनाउनुपर्ने समितिको माग छ ।

२०७३ मा गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सीमाना निर्धारण अयोगले साविककका बाँझो गाविसको ७ र ८ तथा इभाङ गाविसको ६, ७ र ८ वडा समायोजन गरी माङसेबुङ गाउँपालिका वडा नम्बर ३ बनाइएको थियो ।

उनीहरुले अहिले साविकका इभाङ ६, ७ र ८ लाई माङसेबुङ ३ कायम गराई साविक बाँझो ७ र ८ लाई छुट्टै माङसेबुङ ७ नम्बर वडा कायम गर्न माग गरेको छ । स्थानीय सरकार संचालन ऐन २०७४ मा समेत गाउँपालिकाको वडा ५ देखि २१ सम्म हुने प्रावधान रहेकाले जनताको सेवासुविधा सहतका लागि हालको वडालाई आवश्यक प्रक्रिया विभाजन गर्न माग गरेको छ ।

स्थानीय तह पुनसंरचना प्राविधिक सहयोग समितिको कार्यशर्त तथा कार्य्विधि (परिमार्जन सहित) २०७३ कार्तिक ४ अनुसार पहाडी क्षेत्रको गाउँपालिकाका लागि २२ हजार र वडाका लागि ३ हजार २ सय जनसंख्या हुनुपर्ने मापदण्ड थियो ।

सोही मापदण्ड अनुसरा प्राविधिक सहयोग समिति इलामले प्रतिवेदन पठाएको थियो । सोही प्रतिवेदनका आधारमा आयोगले गाउँपालिका र वडा कायम गरेको थियो ।

२०६८ को जनगणना अनुसार साविकको बाँझो ७ र ८ वडामा २ हजार ४ सय ६० र साविकको इभाङ ६, ७ र ८ मा १ हजार ६ सय ५३ गरी ४ हजार १ सय १३ जनसंख्या थियो । त्यतिबेला दुई वटा वडाका लागि कार्यशर्त तथा कार्यविधिमा उल्लेख गरिएको मापदण्ड अनुसारको जनसंख्या नपुग्ने भएपछि प्राविधिक सहयोग समितिले एउटै वडा कायम गरेको थियो ।

माङसेबुङ गाउँपालिका ६ वटा वडामा विभाजित छ । १८ हजार ५ सय ३ जनसंख्या रहेको सो गाउँपालिका १४२ दशमलव ४१ वर्गकिलोमिटर क्षेत्रमा फैलिएको छ ।

सम्बन्धित खवर