इलाम / मालपोत कार्यालय इलामले सेवा प्रवाहलाई छिटो–छरितो बनाउन अनलाइन प्रणालीको सुरुवात गरेको छ ।
सरकारले मालपोत कार्यालयलाई आधुनिकीकरण गर्ने र स्थानीय तहमा सेवा विस्तार गर्ने नीति लिएपछि भू–सेवा केन्द्र सञ्चालनमा आएको हो ।
भु–सेवा केन्द्र सञ्चालनपछि मालपोत कार्यालय इलामको काम अनलाइन प्रविधिबाट हुँदै आएको छ । अनलाइनबाट काम थालिएपछि सेवाग्राहीलाई घण्टौं लाइन बस्नुपर्ने बाध्यता हटे पनि इन्टरनेट अवरुद्ध हुँदा झण्झट भने कायमै छ ।
लेखापढी व्यवसायीबाट हुँदै आएको हस्तलिखित प्रणालीलाई विस्थापित गरी प्रविधिमैत्री बनाएपछि मालपोत कार्यालयमा घण्टाँै लाइन बस्नुपर्ने बाध्यता भने हटिसकेको छ ।
अनलाइनमा चौबिसै घण्टा भू–सेवा प्रविधि सक्रिय हुने भनिए पनि सेवाग्राहीले झण्झटबाट मुक्ति भने पाइसकेका छैनन् ।
यता इलामका प्रमुख मालपोत अधिकृत केशव ढकाल भने अनलाइनबाट काम गर्दा छिटो र त्रुटि कम हुने गरेको दाबी गर्छन । तर बेला बेलामा इन्टरनेट सर्भर अवरुद्ध हुँदा भने सेवाग्राही वाक्कदिक्क बन्ने गरेका छन् ।
मालपोतमा हुने सबै कामको विवरण घर छेउबाट प्रदान गर्ने योजना अनुरुप छिटो र छरितो सेवा प्रदान गर्न भु–सेवा केन्द्र आगामी आर्थिक वर्षमा वडा कार्यालयमा विस्तार गर्ने सरकारी योजना छ ।