कोरोना आतंक बढ्दो, उपराष्ट्रपति र मन्त्रीलाई नै संक्रमण - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कोरोना आतंक बढ्दो, उपराष्ट्रपति र मन्त्रीलाई नै संक्रमण


एजेन्सी /चीनबाट सुरु भएको कोरोना भाइरस (कोभिड–१९)ले विश्वभर आतंक मच्चाइरहेको छ ।

हालै इरानका उपराष्ट्रपति मासुमेह एब्तेकारलाई कोरोनाको संक्रमण भएको पाइएको छ । त्यहाँस्थित स्वास्थ्य मन्त्रालयका प्रवक्ता किनोश जहाँपोरले कोरोनाबाट संक्रमित व्यक्तिको डाटा दिएका थिए । उनले ल्याब टेस्टपश्चात संक्रमित व्यक्तिहरुको संख्या अझ बढ्न सक्ने आशंका व्यक्त गरेका छन् ।

इरानका उपराष्ट्रपति एब्तेकारमा पनि संक्रमण भेटिएसँगै पश्चिम एसियाका देशहरुमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या २ सय ४५ पुगेको छ । हालसम्म इरानमा मात्र कोरोनाका कारण २६ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ ।

यसअघि इरानकै उपस्वास्थ्यमन्त्रीमा कोरोना भाइरसको संक्रमण भेटिएको थियो । त्यसको जानकारी स्वास्थ्यमन्त्रीका प्रेस सल्लाहकार अलीरजा वहाबजादेहले ट्विट्मार्फत् यस्तो जानकारी दिएका थिए ।

संक्रमण बढ्दै गएपनि इरानका राष्ट्रपति हसन रुहानीले अहिल्यै शहर बन्द गर्ने योजना नभएको बताएका छन् । राष्ट्रपति रुहानीका अनुसार भाइरस नियन्त्रण गर्न अझै दुई–तीन हप्ता लाग्न सक्ने छ ।

कोरोना भाइरसको संक्रमणको त्रासमा साउदी अरबले वर्षेनी हुने हज हुने पवित्र स्थलको यात्रामा बिहीबार रोक लगाइदिएको छ । यो हज सुरु हुनुभन्दा केही महिना पहिला लगाइएको रोक हो ।

पश्चिम एसियामा कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि साउदी अरबले यस्तो कदम उठाएको हो । साउदी अरबका अधिकारीहरुका अनुसार यो निर्णयको उद्देश्य विदेशी नागरिकलाई पवित्र स्थल मक्का तथा काबा जानबाट रोक्नु हो ।

सम्बन्धित खवर