फाकफोकथुमको लुम्देमा एक दम्पती मृत अवस्थामा भेटिए - Mangsebung News
  • बुधबार, बैशाख १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

फाकफोकथुमको लुम्देमा एक दम्पती मृत अवस्थामा भेटिए

दमक / फाकफोकथुम गाउँपालिका ५, लुम्दे कैंजलेमा एक दम्पती रहस्यमय अवस्थामा मृत भेटिएका छन् ।

बुधबार दिउँसो अन्दाजी ३५ वर्षे धनबहादुर खपांगी र उनकै पत्नी सोही उमेरकी रीता खपांगीको शव घरको बलेंसीमा रहस्यमय अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घोप्टे परेर लडिरहेका मृतक धनबहादुरले कम्मरमा खुकुरीको दाप भिरेका छन् भने रगत लतपतिएको नांगो खुकुरी भुइँमा छ ।

पत्नी रीता धनबहादुरको नजिकै उत्तानो अवस्थामा लडिरहेको पाएको नेपाल प्रहरीका सई भूपेन्द्र ढुंगानाले बताए ।

‘भुइँ रगताम्य छ, नजिकै घाँस काट्न जान ठिक्क पारेजस्तो अवस्थामा हँसिया र नाम्लो पनि देखिन्छ,’ सई ढुंगानाले भने, ‘दिउँसो १ बजेतिर प्रहरीमा खबर आएपछि हामी बुधबार साँझ घटनास्थल पुगेका छौं। घटना रहस्यमय देखिन्छ ।’

जिल्ला प्रहरी कार्यालयबाट डिएसपी हेमन्त भण्डारी क्षेत्री नेतृत्वको टोली घटना अनुसन्धानका लागि पुगेको छ । ‘घटना कसरी भयो भन्ने अहिल्यै केही भन्न सकिने अवस्था छैन,’ सई ढुंगानाले भने, ‘अनुसन्धान भइरहेको छ ।’ धनबहादुरकी आमा घटना भएका बेला घरमा नभएको र उनीहरूका १३–१४ वर्षे १ छोरा, ८–९ वर्षकी १ छोरी रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर