कोरोना प्रभावः दमकमा पसलहरु स्वतस्फूर्त बन्द - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कोरोना प्रभावः दमकमा पसलहरु स्वतस्फूर्त बन्द


दमक / दमकको मुख्य चौक र वजारका व्यापार व्यवसायहरु स्वतफूर्त रुपले वन्द गरि घरैमा बस्न थालेका छन् ।

सरकारले २२ गते सम्म सबै बन्द गर्न आव्हान गरेपछि यहाँका धेरै जसो पसलहरु व्यवसायीले स्वतस्फूर्त बन्द गरेका छन् । सार्वजनिक यातायातका साधनहरु चलेका छैनन् । आशिंक रुपमा फाट्टफुट्ट पसलहरु खुलेपनि मानिसहरुको चहलपहल खासै देखिँदैन् ।

अहिलेसम्म नेपालमा कोरोना भईरसका संक्रमित विरामी नभेटीए पनि छिमेकी मुलुक भारतसहित विश्वका विभिन्न मुलुकमा यसको संक्रमण फैलिदै गएपछि नेपालीहरुमा समेत त्रास बढ्दै गएको हो ।

दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठले सम्भावित जोखिम न्यूनिकरण गर्न अत्यावश्यक सेवा भित्र पर्ने तथा दैनिक उपभोग्य सामानहरु बाहेकको व्यापार व्यवसाय व्यवसायीहरुले स्वतस्फूर्त रुपमा बन्द गरेको जानकारी दिए । संघले बजारमा उपलब्ध दैनिक उपभोग्य र अत्यावश्यकीय सामाग्रीहरुको कालोबजारी नगर्न सचेत गराएको पनि उनले बताए । सार्वजनिक सूचना मार्फत त्यस्तो सचेत गराउने काम भएको उनले जनाए ।

बजार बन्द हुने भएपछि हिजोनै यहाँका सहकारी संस्थाहरुले आजदेखि आफ्ना बजार प्रतिनिधि तथा संकलकहरुमार्फत घर तथा पसलसम्म गएर नियमित रकम संकलन गरिने कार्य वन्द गरिएको राष्ट्रिय सहकारी कर्मचारी संघका केन्द्रीय सचिव समेत रहेका मेची सहकारी संस्थाका व्यवस्थापक खोमप्रसाद वगालेले वताए ।

यहाँँका सरकारी तथा नीजि बैंकहरु आंशिक समय खुलेपनि खासै कारोवार नभएको वित्तीय सञ्चालकहरुको भनाई छ । सामाजिक सुरक्षा भत्ता भने हालसालै बैंक खातामा जम्मा भएका कारण ज्येष्ठ नागरिकहरु भने भत्ता रकम लिन बैंकहरुमा लाइन लाग्ने गरेका छन् ।

दमक नगरपालिकाले पनि सार्वजनिक सूचना गरी अत्यावश्यक कामबाहेक अन्य प्रयोजनका लागि कार्यालयहरुमा नआउन सर्वसाधारणलाई सूचित गरेको छ । नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत दिनेश न्यौपानेले हस्ताक्षर गरी जारी गरेको सूचनामा त्यस्तो उल्लेख छ । स्कूल तथा कलेजहरु भने देशैभर चैत्र ५ गतेदेखिनै बन्द भईसकेकाछन् ।

सम्बन्धित खवर