दिपकको शव फोहोर फाल्ने ठाउँमा, शव उकास्ने पैसाको अभाव - Mangsebung News
  • मङ्गलबार, बैशाख ११, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

दिपकको शव फोहोर फाल्ने ठाउँमा, शव उकास्ने पैसाको अभाव

विराटनगर / यतिबेला संसार कोरोना संक्रमणका कारण आजित छ । नेपालमा पनि संक्रमण फैलिन नदिनका लागि सरकारले मंगलबारबाट मुलुकभर लकडाउन लगाएको छ । लकडाउनले गर्दा अति आवश्यक काममा बाहेक घरबाहिर निस्कन मनाहि गरिएको छ ।

मान्छेहरु कोरोना संक्रमण हुनबाट कसरी जोगिने भन्ने सन्त्रासमा रहेको बेला मोरङको पथरी शनिश्चरे नगरपालिका– १० की मनु लिम्बुको परिवारमा ठूलो बिपती आईपरेको छ ।

मनुको दाजु दिपक पङ्याङगुलाई फागुन २७ गते छिमेकी दोर्जे तामाङ, मुस्कान राई र सञ्जय लिम्बूले मरणासन हुने गरी कुटपिट गरेका थिए । कुटपिटबाट सक्त घाइते भएका दिपकको बिराटनगर स्थित बिराटनगर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । तिनै दिपकको शव अस्पतालबाट कसरी लैजाने भन्ने चिन्तामा छिन् मनु लिम्बु ।

दिपकको शव यतिबेला अस्पतालले वेवारीसे अवस्थामा फोहोर फाल्ने ठाउमा राखेको छ । अस्पतालले यसो गर्नुको मुल कारण भनेको उनको उपचार गर्ने क्रममा उठेको बिल करिब तीन लाख ६० हजार रुपैयाँ तिर्न नसक्नु हो ।

नर्सिङ होमका प्रशासन प्रमुख पदम विनाडीले बिल नतिरेसम्म शव लैजान नदिने बताएका ँछन् । अस्पतालको यस्तो कुरा आईरहदा मृतक दिपकका बहिनीले ‘दाजुको मृत्यु कुकुरकोभन्दा पनि नराम्रो भएको दुखेसो गरेकी छिन् । उनले भनिन् ‘अस्पतालले फोहोर हाल्ने ठाउँमा शव राखेको छ, निकाल्ने क्षमता छैन ।’

बन्धक बनाएर कुटपिट, मृत्युपछि पैसाको अफर
फागुन २७ गते गाउँमा होलीको चहलपहल थियो । मनुका दाजु २७ वर्षीय दीपक सधैं झै छिमेकी लंक तामाङको घरमा सुत्न गए । घरमा बुबा र कान्छी आमासँग सम्बन्ध नराम्रो भएका कारण उनको रात लंककै घरमा बित्थ्यो ।

तर, २७ गते राति सुतिरहेकै स्थानमा उनीमाथि कुटपिट भयो । आफ्नो घरमा बसेको भन्दै लंकका भाइ दोर्जे तामाङ, मुस्कान राई र सञ्जय लिम्बुले निर्घात कुटपिट गरेका हुन् । कुटपिटबाट उनी घाइते भए । गाउँको एकान्तमा रहेको घरमा दीपक कुटिँदा छिमेकीले सुइँकोसम्म पाएन्न, उनले पनि केहि कसैलाई भनेनन् ।

त्यही कारण उनीमाथि कुटपिट दोहोरिँदै गयो । चैत ६ गते अवस्था गम्भीर भएपछि दीपकलाई लंकको घरबाट छिमकी ललितजंग कुरुम्वाङको घरमा लगेर छाडियो ।

घटनाको नौ दिनसम्म दीपकले आफन्तलाई सुनाएनन् । अन्तिम अवस्थामा ललितजंगको घरमा लगेपछि उनैले धरान बस्ने बहिनी मनु लिम्बुलाई जानकारी गराए । मनुले त्यहाँ पुगेर दीपकलाई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिन् । एम्बुलेन्स रिजर्भ गर्ने पैसा थिएन, त्यसैले अटो रिक्सामा लगिन् ।

अस्पतालले आईसीयु छैन भन्दै विराटनगरमै फिर्ता पठायो । विराटनगरको विराट नर्सिङ होममा उपचारका क्रममा बिहीबार बिहान दीपकको निधन भएको हो । तर, खर्च अभावका कारण मनुले दाजुको अन्तिम संस्कार गर्न पाएकी छैनन् ।

मनुकाअनुसार दाजुको मृत्युपछि घटनामा संलग्नका आफन्तहरुले शव निकाल्न पैसा दिने तर प्रहरीमा जाहेरी नदिन दबाब दिइरहेका छन् । ‘मेरो दाजुमाथि ठूलो अन्याय भएको छ’ उनले भनिन्, ‘यस्तो गर्नेलाई कारवाही हुनुपर्छ ।’

इलाका प्रहरी कार्यालय पथरीका डिएसपी दिलिप गिरीकाअनुसार घटनाको जानकारी ढिलो मात्र आएको थियो । तर, एक आरोपी मुस्कान राई पक्राउ परेका छन् । सञ्जय लिम्बु र दोर्जे तामाङ फरार छन् । मृतक र आरोपी तीनजना सँगै ज्याला मजदुरी गर्ने गरेको पाइएको छ । प्रहरीले कर्तव्य ज्यान मुद्दामा यस घटनाको अनुसन्धान गरिरहेको छ ।

श्रीमती र बुबा बिरानो
मृतक दीपक विवाहित रहेका थिए । उनकी श्रीमती बबिता राई हाल वैदेशिक रोजगारीमा छिन् । विदेश गएपछि श्रीमतीले छोरीलाई माइतीमा लगेर राखेकी छन् । मनुका अनुसार उनी अहिले श्रीमानलाई वास्तै गर्दिनन् । दीपकलाई आफ्नै परिवारभित्र पनि राम्रो व्यवहार थिएन ।

आमाले छाडेपछि बुबाले दोस्रो बिहे गरे । कान्छी आमाले नराम्रो व्यवहार गरेपछि उनी लंकको घरमा बस्दै आएका थिए । ‘भाउजुले पनि वास्ता नगरेका कारण दाजु तनावमा हुनुहुन्थ्यो’ मनुले भन्छिन्, ‘एक्लै परेका दाजुलाई तड्पाई तड्पाई मारे ।’

करिब नौ दिन बन्धक बनाएर कुटपिट गर्दा दीपकको दाहिने आँखा फुटेको थियो । टाउकोमा पानी जमेको थियो । समयमा नै उपचार नपाएका कारण उनको ज्यान गएको हो ।

शव उकास्ने पैसा छैनः मनु
मनुले दाजुको शव उकास्ने पैसा नभएको दुखेसो गरेकी छिन् । उनले कसैको सहयोग नपाएको गुनासो समेत गरेकी छिन् । उनले सहयोगको याचना गरेपनि सहयोग पाएकी छैनन् ।

कोरोना भाइसका कारण विश्व अस्तव्यस्त बनेको छ । तर मनुलाई कोरोनाबाट जोगिने भन्दा पनि दाजुको शव कसरी अस्पतालबाट उकास्ने भन्ने मात्रै ठुलो चिन्ता छ ।

मनुलाई छिमेकीको कुटपिटबाट माइती गुमाउनु परेको पिडा छ । अझै कानूनी र आर्थिक सहयोग नपाउँदा पीडा माथि झन ठुलो पीडा थपिएको छ । राज्य, सरकार, अभिभावक कोही नभएको जस्तो भइरहेको छ । सम्बन्धीत निकायले चासो नदिएकोले न्याय खोज्न कहाँ जाउँ भन्ने प्रश्न गरेकी छिन मनुले ।

सम्बन्धित खवर