दमक / कोरोना भाइरसको जोखिम बड्दै गइरहेको बेला झापाको दमक नगरपालिमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
दमक नगरपालिका वडा नम्बर ३ निवासी ६२ वर्षीय वृद्धमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएसंगै दमक नगरपालिकाले उक्त वडा लगायत उत्तरी क्षेत्रलाई शुक्रबार रातिदेखि पूर्णरुपमा सिल गरेको छ ।
उक्त क्षेत्रमा भाइरस संक्रमणको परीक्षण गर्नुपर्ने भएकाले र जोखिम कम गर्न जनप्रतिनिधि, प्रशासन र स्वास्थ्यकर्मीको शुक्रबार राति बसेको आकस्मिक बैठकले दमकका केही क्षेत्र सिल गर्ने निर्णय गरेको हो ।
शनिबार बिहानैदेखि नगरपालिकाको उत्तरमा मावा पुलदेखि बेलडाँगी–१ सम्म, दक्षिणमा कृष्ण मन्दिर राजर्मासम्म, पूर्वमा हिमालय माविदेखि बेलडाँगी–१ सम्म र पश्चिममा मावा खोलासम्मको क्षेत्र सिल गरिएको इलाका प्रहरी कार्यालय दमकका डीएसपी बिजयराज पण्डितले जानकारी दिए ।
त्यस्तै नगरपालिका र प्रशासनको पहलमा दमकको उत्तरी क्षेत्रमा रहेको भुटानी शरणार्थी शिविरलाई शुक्रबारदेखि नै सिल गरिएको छ । शिविरभित्र आवतजावत गर्न पूर्णरुपमा रोक लगाइएको छ । ती व्यक्तिलाई कोरोना पेजिटिभ रहेको शुक्रबार पुष्टि भएको थियो ।
वडा नम्बर ३ का वडा अध्यक्ष नवीन बरालका अनुसार वृद्धको पीसीआर टेष्ट गर्न पठाएदेखि नै सिल गरिएको ३ नम्बर वडालाई सिल गरिएको हो । उनले भने, ‘रातिदेखि नै माइकिङ गर्दै हिडेका छौँ । शनिबार बिहानबाट संक्रमित वृद्धको घरमा आवतजावत गर्ने व्यक्तिहरुको खोजी गर्दैछौँ ।’