दमक / विश्व किरात महासंघ नेपाल र किरात धर्मका संरक्षक गुरु देवबहादुर तुम्बापो ‘लाफयङ’ को ७६ बर्षको उमेरमा निधन भएको छ ।
तुम्बापोे विगत केही वर्ष अघिबाट पक्षघातसहित मुटु, नसा, निमोनिया लगायतका रोगले ग्रसित भएका थिए । झापाको विर्तामोड स्थित वि एन्ड सी अस्पतालमा उपचार गराइरहेका उनको सोमबार अपरान्हन निधन भएको थियो ।
उनको अगुवाइमा चुलाचुली १, स्थित ‘फाल्गुनन्द लाफयङ् बहुभाषिक पाठशाला’ स्थापना गरि चञ्चालनमा आएको थियो ।
महागुरु फाल्गुनन्दको मार्गदर्शनलाई अनुसरण गर्दै आएका गुरु तुम्बापो चम्जिक मुन्धुमका ज्ञाता मानिन्थे । तुम्बापोले किरात धर्म, संस्कृति, संस्कार, भाषा, लिपि, विकास, उत्थान र संरक्षण, प्रवद्र्धनमा उल्लेखनीय योगदान पुर्याए थिए ।
पान्थर जिल्लाको फिदिम नगरपालिकाको चोकमागुमा वि.सं. २००१ साल मंसिर १० गते बुबा काशिहाङ र आमा कौशिलाको कान्छा सुपुत्रको रुपमा जन्मिएका तुम्बापोको १ छोरा १ छोरी रहेका छन् ।
गत वर्ष श्रीमती गुमाएका तुम्बापो इलामको चुलाचुली गाउँपालिका १ कमलमा बस्दै आएका थिए ।