विराटनगर / प्रदेश १ को विराटनगरबाट थप दुई जना कोरोना भाइरसबाट संक्रमितहरू निको भएर अस्पतालबाट घर फर्केका छन् ।
निको हुनेहरुमा भोजपुर र झापाका रहेका छन् । उनीहरु विराटनगरको कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा भर्ना भएर उपचार गराइरहेका थिए ।
भोजपुरको हतुवागढी गाउँपालिका ६ लाङ्खाका २६ वर्षीय युवक र झापाको बाह्रदशी गाउँपालिकाका ४० वर्षीय पुरुष कोरोनामुक्त भएका हुन् ।
कोरोना रिपोर्ट नेगेटिभ देखिएपछि उनीहरुलाई डिस्चार्ज गरिएको कोसी अस्पतालकी मेडिकल सुपरीटेन्डेन्ट डा. संगीता मिश्रले बताइन् ।
योसँगै प्रदेश १ मा कोरोना उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या १६ पुगेको छ भने नेपालमा निको भएर घर फर्किनेको संख्या ३३ पुगेको छ । प्रदेश १ मा संक्रमितको संख्या ३५ छ । जसमा १६ जना डिस्चार्ज भएका छन् भने १९ जनाले उपचार गराइरहेका छन् ।