माङसेबुङ गाउँपालिकाले निर्धारित समयभित्रै नीति, कार्यक्रम र बजेट सार्वजनिक गर्नेे तयारी गर्दै - Mangsebung News
  • शुक्रबार, असोज १८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

माङसेबुङ गाउँपालिकाले निर्धारित समयभित्रै नीति, कार्यक्रम र बजेट सार्वजनिक गर्नेे तयारी गर्दै

माङसेबुङ / इलामको माङसेबुङ गाउँपालिकाले आगामी आर्थिक २०७७/०७८ का लागि आफ्नो नीति तथा कार्यक्रम र बजेट निर्माणको तयारी सुरु गरेको छ ।

माङसेबुङ गाउँपालिकाले निर्धारित १० असारभित्रै नीति कार्यक्रम र बजेट सार्वजनिक गर्ने गरी तयारी सुरु गरेको हो ।

माङसेबुङले कार्यपालिकाको बैठक गरी वडालाई बजेटको सिलिङ तोकेको छ । ६ वटै वडाहरुमा ५० लाख रुपैयाँका दरले बजेटको सिलिङ तोकेको गाउँपालिका अध्यक्ष डिकेन्द्र इदिङ्गोले जानकारी दिए ।

विगतका वर्षभन्दा यसवर्ष वडालाई दिएको बजेटको सिलिङ घटाएको छ । विगतका वर्षमा प्रत्येक वडालाई ६० लाख रुपैयाँ बजेट पठाउँदै आएको थियो ।

कोरोना भाइरस (कोभिड १९) का कारण संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त हुने रकम घट्ने पूर्वानुमान गरिएकाले वडाको बजेट घटाउनु परेको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सुवेदीले जानकारी दिए ।

गाउँपालिकाले सबै वडालाई जेठको चौथो सातासम्ममा वडाको योजना तर्जुमा गरिसक्न निर्देशन दिएको सुवेदीले बताए । माङसेबुङ गाउँपालिकाले आन्तरिक आय ६६ लाख रुपैयाँ हुने अनुमान गरेको छ । सोही अनुसार बजेट निर्माण गरिने प्रमुख प्रशासकीय अधिकृत सुवेदीले जानकारी दिए ।


सोही निर्देशन बमोजिम वडा कार्यालयले वडा समितिको बैठकको समेत तयारी गरेका छन् । वडा समितिको बैठकपछि वडाले वस्ती र टोलस्तरीय योजना तर्जुमा तथा प्राथमिकिकरण गर्ने जनाएको छ ।

गाउँपालिकाको स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिबाट प्राप्त बजेट सीमा तथा दिग्दर्शनको आधारमा वडँहरुले वस्ती र टोलबाट प्राप्त योजनाहरुमध्मेबाट वडाको लागि प्राप्त बजेट र सीमाको अधिनमा रही योजनाहरुको छनौट तथा प्राथमिकता निर्धारण गरी बजेट तथा कार्यक्रम तर्जुमा समितिमा पेश गर्नेछ ।

माङसेबुङ गाउँपालिकालाई आगामी आर्थिक वर्षका लागि संघीय सरकारबाट २३ करोड ४७ लाख रुपैयाँ प्राप्त भएको छ । समानीकरण अनुदान ८ करोड ७८ लाख र सशर्त अनुदान १४ करोड ६९ लाख गरी २३ करोड ४७ लाख रुपैयाँ विनियोजन गरेको नेपाल सरकार अर्थ मन्त्रालयद्वारा सार्वजनिक अन्तर सरकारी वित्तीय हस्तान्तरण (प्रदेश र स्थानीय तह) आर्थिक वर्ष २०७७/७८ मा उल्लेख छ ।

सम्बन्धित खवर