नक्सा - Mangsebung News
  • शनिबार, फागुन ०३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नक्सा

धेरैपछी म
मेरो देशको नक्सा हेर्दैछु

हिमालको ढाका टोपी ओढेर
पहाडको होचो, अग्लो छाती फुलाउँदै
तराइको फाँट–फाँटसम्म अखण्ड उभिएको
कति मिलेको छ देशको नक्सा

लाग्छ यो मैले हेरिरहेको
देशको नक्सा हैन
स्वयं देशभक्त भिमसेन थापाको नक्सा हो

नक्साभित्र
बढो शानले उभिएको देखिन्छ सत्रजिते लिम्बुवान
खम्बुवान, नेवा, थरुहट, मगरात, ताम्सालिङ र खसान

पुर्व, पश्चिम, उत्तर, दक्षिण
किरिङमिरिङ कोरिएको छ सिमानाको रेखा
जसलाइ एकदिन
कुनै आपुङ्गी राजाले
टुक्रे–टाक्रे राज्यहरु जोडिकन
बढो दुःखले आज्र्याको थ्यो

यति दुखले आज्र्याएर पनि
कति सानो छ यो मुलुक

यसको छेउछाउ
यस्ता भिमकाय दुइटा देशहरु छन्
यस्तो लाग्छ
यिनै देशहरुले चेप्टाएर सानो भएको हो उ

उहिल्यै
लगभग २ शताव्दी पहिल्यै
साम्राज्यवादी घोडामा चढेर पश्चिम दक्षिणबाट
सायद निक्कै भोकाएर आएथे खुनी राजाहरु
र भोकको झोँकमा तरबार उध्याउँदै
तरुलजस्तो देखेथे यो देशलाई

(सायद तिनिहरुले तरुलजस्तो देखेपछी पो
यसरी ख्याउटे भएको हो कि ?)

तर जे भए पनि
नक्सा त नक्सा हो
सुगौली सन्धिले चारकिल्ला बाँधेकै हो

नत्र
मान्न सकिन्छ

पछि
चारकिल्ला बाँधेपछि
आफै घट्दै–घट्दै गयो नक्सा

या त राजतन्त्रमा
महाराजधिराजहरु मुलुक बाहिर घुम्न निस्कँदा
भारी भएर अलिकति उतै छाडिराख्यो कि ?

या त
छिमेकी सरकारको निम्तोमा
दरबारिया भोज ग्रहण गर्न सवार हुँदा सरकारले
कोसेली भनेर अलिकती उतै सुम्पिराख्यो कि ?

या त
पछि प्रजातन्त्रमा
स्वतन्त्रताको गीत गाउँदै बग्दा
नदिहरु आफै सिमाना मेट्दै बग्यो कि ?
स्वतन्त्रताको गीत गाउँदै उभिँदा
हिमालहरु आफै सिमाना कट्दै अग्ल्यो कि ?

नत्र
इतिहास पुस्तिकाहरुमा
इतिहासकारले यस्तै सबुत लेखेपछि
विद्यालयमा
भुगोल विषयका शिक्षकहरुले
यस्तै मानचित्र पढाएपछि
सायद
यसरी देशको नक्सा
यस्तो कायम भएको हुनसक्छ

तर
यत्तिका बर्षपछी अहिले फेरि
अलिक नमिल्दो पनि देखिन्छ देशको नक्सा
कालापानी
लिपुलेख
लिम्बियादुरा रेखा

त्यो नक्साको चुच्चो
यतातिर फर्किएको
मोदिको हस्तक्षेपकारी जुत्ताजस्तो पनि देखिन्छ
कि
यतै फर्किएर पिसाब फेरिरहेको
उसकै लिङ्गजस्तो पनि देखिन्छ

सोच्छु
यसरी कसरी
छिनमै परिवर्तन हुन्छ
शताव्दीऔँ अघि कायम देशको नक्सा ?

यसरी कसरी
छिनमै खोलिन्छ
वर्षौँदेखी ठोकिएको
सरकार प्रमुखको मुखको किल्ला ?
र राष्ट्रवादी नारा लिएर
उभिन्छ देशव्यापी सम्बोधनमा ?

ठूलो त सार्वभौमसत्ता हो
ठूलो कुरो रहेन नक्सा कोर्न
जस्तो कि मेट्न नि सकिन्छ सजिलै

जे होस
उमेरको कमजोर दिनहरुमा
पावरवले चस्माभित्र
ओली सरकारको आँखाको दृष्टि हल्लिएजस्तै
एकदम हल्लिरहेछ
मेरो देशको नक्सा ।

माङसेबुङ –५, इलाम

सम्बन्धित खवर