तेह्रथुम फेदापमा लिम्बूको चिहान भत्काइएकोमा चुम्लुङको ध्यानाकर्षण - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

तेह्रथुम फेदापमा लिम्बूको चिहान भत्काइएकोमा चुम्लुङको ध्यानाकर्षण

काठमाडौं / तेह्रथुमको फेदाप गाउँपालिका वडा नम्बर १ (साविक सिम्ले गाविस वडा नम्बर ५) औंसीबजारस्थित आदिवासी लिम्बुको चिहान भत्काइएको घटनाप्रति किरात याक्थुङ चुम्लुङले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

‘यस्ता सांस्कृतिक, ऐतिहासिक एवम् पवित्र थलोहरुको हेरचाह र संरक्षण हुनुुपर्नेमा उल्टो त्यसलाई विकासको नाममा भत्काउने, मेट्ने दुष्प्रयास भइरहेकोमा किरात याक्थुङ चुम्लुङको तर्फबाट घोर भत्र्सना गर्दछौं’ चुम्लुङले शुक्रबार एक प्रेस विज्ञप्ती भनिएको छ, ‘आदिवासी लिम्बुमध्ये निङलेखु र पयाङगु वंशथरीहरुको समाधिस्थल पर्ने उक्त क्षेत्रमा हेलीप्याड बनाउने क्रममा उक्त घटना भएको भनिएको छ ।

समाधिस्थलहरु, मानवसभ्यताका एक महत्वपूर्ण साँस्कतिक थलोहरु हुन् । अझ आदिवासीको सन्दर्भमा यसले विशेष सांस्कृतिक महत्व र ऐतिहासिक निरन्तरताको अर्थ राख्दछ ।’

चुम्लुङका अध्यक्ष योगराज वनेमद्वारा हस्ताक्षरित विज्ञप्तीमा कुनै पनि विकास वा प्रगतिको नाममा यी सांस्कतिक थलोहरु भत्काउनु हुदैन भनी सर्वोच्च अदालतको आदेश, आदिवासीहरुको हकअधिकारसँग सम्बन्धित आइएलओ १६९ र संयुक्त राष्ट्र संघको घोषणा पत्र, साथै नेपालको संविधान समेतले सुनिश्चित गरेको अधिकारहरुको विरुद्ध किन यस्ता दुखद र निन्दनीय हर्कतहरु भइरहेका छन् ? भनी प्रश्न गरिएको छ ।

यस्ता सांस्कृतिक थलोहरुको उचित संरक्षण र सम्बद्र्धन हुनुुपर्दछ भनी विभिन्न चेतनामुलक सञ्चार भइरहेकै अवस्थामा पनि प्रत्यक्ष सरोकार राख्ने सम्बन्धित स्थानीय सरकार संवेदनशील नभइरहेको चुम्लुङको आरोप छ । यसप्रति चुम्लुङले खेद व्यक्त गर्दै स्थानीय सरकारको असंवेदनशिलता र गैरजिम्मेवारीपनाको कडा विरोध गरेको छ ।

चुम्लुङले उक्त हेलीप्याड बनाउने कार्य अविलम्ब रोकी चिहान भत्काउनेहरुलाई कारबाही गर्न, भत्काइएको चिहानहरु यथावत संरक्षित गर्न र सम्बन्धित समाज एवं परिवारलाई पुग्न गएको सम्बेदनात्मक एवं सांस्कृतिक चोट/क्षतिको उचितढंगले भरणपोषण गर्न माग समेत गरेको छ ।

साथै स्थानीयस्तरमा सम्बन्धित लिम्बू वंशथरी एवम समाज, परिवार, लिम्बुजन्य संघसंस्थाहरु, आदिवासी जनजाति संघसंस्थाहरु, तुतुतुम्याङहरु, समाजका अग्रज एवम् अभियन्ताहरु, बुद्धिजीविहरु, राजनीतिज्ञहरुलाई यस्ता घटनाहरु हुन नदिनको लागि गम्भीर सरोकार राखिदिन अपिल समेत गरेको छ ।

सम्बन्धित खवर