दमक नगरपालिकाको बजेट १ अर्ब ३१ करोड बढी - Mangsebung News
  • बिहिबार, चैत १५, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

दमक नगरपालिकाको बजेट १ अर्ब ३१ करोड बढी


दमक । झापाको दमक नगरपालिकाले आगामी आर्थिक वर्षका लागि १ अर्ब ३१ करोड ३० लाख ३५ हजारको बजेट विनियोजन गरेको छ । सातौँ नगरसभामा नगर उपप्रमुख गीता अधिकारीले नीति तथा कार्यक्रमसहित बजेट प्रस्तुत गरेको हो ।

जसमध्ये चालुतर्फ रु ७७ करोड ७७ लाख ६५ हजार र पूँजीगत तर्फ रु ५३ करोड ५२ लाख ७० हजार विनियोजन गरिएको उपप्रमुख अधिकारीले बताएकी छन् ।

नगरपालिकाले कोरोनाका कारण क्षति पुगेको अर्थतन्त्रलाई उकास्न विशेष नीति लिएको जनाइएको छ । कोरोना सङ्क्रमण फैलिन नदिन गरिएको लकडाउन अवधिको विभिन्न करमा छुटसहित राहतका कार्यक्रमसमेत राखिएको छ ।

त्यसैगरी, आगामी आर्थिक वर्षमा स्वरोजगार र उद्यमशीलतालाई समेत विकास गर्ने लक्ष्य राखिएको छ । लकडाउनका कारण ठप्प शैक्षिक गतिविधिलाई पनि चलयमान बनाउन बजेट केन्द्रित रहेको उपप्रमुख अधिकारीले बताइन् ।

प्रस्तुत नीति तथा कार्यक्रम नगरसभा सदस्यको सुझाव र रायसहित सर्वसम्मत पारित गरिएको थियो । नगरसभा सदस्यले उठाएका प्रश्न र सुझावको नगरका नगर प्रमुख रोमनाथ ओलीले जवाफ दिएका थिए । नगरसभाको अर्को बैठक असार १३ गते बस्ने जनाइएको छ ।

यसरी झापाको दमक नगरपालिकासँगै माइपश्चिम क्षेत्रका आधा दर्जन पालिकाले बुधबार आ–आफ्ना नीति तथा कार्यक्रमसहितको बजेट सार्वजनिक गरेका हुन् । जिल्लाको माइपश्चिमको मुख्य व्यापारिकस्थल दमक नगरपालिकासहित गौरादह, शिवसताक्षी नगरपालिका र कमल तथा गौरीगञ्ज गाँउपालिकाले नीति तथा कार्यक्रमसहित बजेट सार्वजनिक गरेको हो ।

कमलको बजेट रु ८१ करोड ८५ लाख

कमल गाउँपालिकाकोे सातौँ गाउँसभामा गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले आगामी आर्थिक वर्षका लागि शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता दिएको नीति तथा कार्यक्रम प्रस्तुत गरिन् ।

यस्तै गाउँपालिका उपाध्यक्ष बेनुप्रसाद शिवाकोटीले आगामी आर्थिक वर्षका लागि रु ८१ करोड ८५ लाख ९१ हजार ७९९ को अनुमानित आय–व्यय (बजेट) प्रस्तुत गरे । कार्यक्रममा उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गरिएको थियो ।

गौरीगञ्जमा नीति तथा कार्यक्रम प्रस्तुत

गौरीगञ्ज गाउँपालिकाको छैटौँ गाउँसभामार्फत आर्थिक वर्ष २०७७र७८ को नीति तथा कार्यक्रम विहिबार प्रस्तुत भएको छ । गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले छैटौँ गाउँसभामार्फत नीति तथा कार्यक्रमको दीपप्रज्जवलन गरीे औपचारिक उद्घाटन तथा उपाध्यक्ष दीपेन्द्र थापाले गत वर्षको नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयन पक्षलाई समेत समीक्षा गरी आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरे ।

गौरीगञ्ज गाउँपालिकाको ‘कृषि, शिक्षा, स्वास्थ्य, उद्योग, व्यापारमा उन्नति, पूर्वाधार विकाससहित गौरीगञ्जको समुन्नति’ भन्ने नारालाई निरन्तरता दिँदै त्यस अनुरुप नीति तथा कार्यक्रममा कृषि, स्वास्थ्य, शिक्षा, साना तथा मझौला उद्योग स्थापनामा जोड दिइएको जनाइएको छ ।

शिवसताक्षीको बजेट एक अर्ब एक करोड ७५ लाख

यसैगरी, झापाको शिवसताक्षी नगरपालिकाले छैटौँ नगरसभा आजदेखि सुरु भएको छ । सभाको प्रदेश नम्बर १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले उद्घाटन गरे । नगरसभालाई सम्बोधन गर्दै मन्त्री घिमिरेले नगरको चौतर्फी विकासमा नगरपालिकासँग प्रदेश सरकार सहकार्य गर्न तयार रहेको बताए ।

नगर उपप्रमुख भोजकुमारी नेपालले सभामा आर्थिक वर्ष २०७७र७८ को नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् । उनले आर्थिक वर्षको नगर कार्यपालिका, वडा समिति, विषयगत शाखाले गर्ने सेवा र कार्यका निमित्त चालु खर्च, पूँजीगत खर्च र वित्तीय समानीकरणको रकमसमेत गरी रु एक अर्ब एक करोड ७५ लाख ६५ हजार २७० को बजेट सार्वजनिक गरिन् ।

उपप्रमुख नेपालले प्रस्तुत गरेको नीति तथा कार्यक्रम नगरका विपन्न परिवार केन्द्रित छ । नगरभित्र रहेका घरका फुसका छाना हटाएर जस्तापाता लगाउनेदेखि लिएर विपन्नलाई सीप र रोजगार उपलब्ध गराई बेरोजगार समस्या समाधानसम्म गर्ने कार्यक्रम उल्लेख छ ।

कृषिलाई आधुनिकीकरण, सामूहिक खेती, व्यावसायिक खेती, यान्त्रिकीकरण र जैविक खेतीमा जोड, कृषिसँग सम्बन्धित घरेलु तथा मझौला उद्योगलाई प्रोत्साहन तथा स्थापनासमेत गरिने कार्यक्रममा जनाइएको छ ।

सम्बन्धित खवर