प्राविधिक शिक्षा सञ्चालनका लागि माङ्सेबुङको सरस्वती मावि छनौट - Mangsebung News
  • शुक्रबार, असार २६, २०७७
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

प्राविधिक शिक्षा सञ्चालनका लागि माङ्सेबुङको सरस्वती मावि छनौट

माङसेबुङ । श्री सरस्वती माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०७७ देखि प्राविधिक धार सञ्चालनका निम्ति छनौट भएको छ । शिक्षा विभागले इलामको माङसेबुङ ५ स्थित सरस्वती माविलाई वाली विज्ञानका निम्ति छनौट गरेको हो ।

शिक्षा विभागले सरस्वती माविसहित प्रदेश नं १ का १० विद्यालयहरुलाई प्राविधिक धार सञ्चालनका निम्ति छनौंट गरेको हो ।

यसै शैक्षिक सत्रदेखि वाली विज्ञान पठनपाठन गर्ने तयारी रहेको सरस्वती माविका प्रधानाध्यापक हरीप्रसाद आङदेम्बेले बताए ।

प्राविधिक धार सञ्चालनका निम्ति विद्यालय छनौंट हुनुले माङसेबुङका विद्यार्थीहरुलाई प्राविधिक शिक्षा लिने अवसर मिलेको प्रधानाध्यापक आङदेम्बेको भनाई छ ।

साथै प्राविधिक शिक्षा सञ्चालनका निम्ति सबै पक्षको सहयोग आवश्यक रहेको प्रधानाध्यापक आङदेम्बेले बताए । सरस्वती मावि किरात धर्मावलम्बीहरुको पवित्र धार्मिक स्थल माङसेबुङमा वि.सं. २०३८ सालमा स्थापना भएको हो ।

सो विद्यालय किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङको विशेष पहलमा स्थापित भएको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष केहेरसिं योङहाङको कथन छ ।

साधारण शिक्षातर्फ कक्षा १२ सम्म पठनपाठन भइरहेको सरस्वती माविमा करिब ६ सय विद्यार्थी अध्ययन गरिरहेका छन् ।

कक्षा ११ र १२ मा किरात लिम्बू भाषासमेत पठनपाठन भइरहेको छ । हाल सरस्वती माविमा पान्थर, ताप्लेजुङ, झापा, मोरङ र धनकुटाका समेत विद्यार्थीहरु अध्ययनरत रहेको शिक्षक मनकुमार लिम्बू (आङबुहाङ अबोध अविरल) को भनाई छ ।

सम्बन्धित खवर