कवि प्रदिप योङहाङका दुई कविता : १. गन्धर्व दाजु २. यस्तो लाग्छ कहिले काँही - Mangsebung News
  • शुक्रबार, साउन २३, २०७७
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कवि प्रदिप योङहाङका दुई कविता : १. गन्धर्व दाजु २. यस्तो लाग्छ कहिले काँही


१. गन्धर्व दाजु

एक हातमा सारङ्गी रेटेर,
मिलन बिछोडको कथा समेटेर,
बुडो ओठबाट जवान आवाज निकाल्दै
गाउनु हुन्थ्यो,
विरहका भाकाहरु
गन्धर्व दाजु

रात छिपिएर बिहान जन्मनै लाग्दा
सारङ्गीको धुनले व्युझिँन्थ्यो पहाड
व्युझिँन्थ्यो हिमाल
अनि पूर्वबाट घामले चिहाँउदै गर्दा
हिमालले मन्जन गरिसक्थ्यो,
र सेतै मुस्कुराउँथ्यो
नदी बगरसम्म
झरि सक्थ्यो र वेसुर गाइरहन्थ्यो

गन्धर्व दाजुको हातले
जब सारङ्गी रेट्थ्यो
वेसुर गाइ रहने नदीले पनि मीठो सुर भेट्थ्यो
चौतारीले वर्षौको पर्खाईका
तिर्खाहरु एकै चोटि मेट्थ्यो

गन्धर्व दाजुको हातले
जब सारङ्गी रेट्थ्यो
आकाशमा चिच्याई रहने बादलले
चिच्याहटमा मीठो स्वर समेट्थ्यो
औँशीको रातले पनि
आफ्नो कल्पनामा,प्रिय जून भेट्थ्यो
तर, आजकल बज्दैन सारङ्गी

पहाड बिउँझाउने सारङ्गीले
सायद कहिल्यै बिउँझाएन होला
गन्धर्व दाजुको समथर जिन्दगीमा
सुतिरहेको सुखका पहाडहरु

वेसुर नदीलाई सुर सिकाउने
गन्धर्व दाजु,
आफै वेसुर भएछन् क्यार
वेसुर भएपछि उमेर
वेसुर हुँदो रहेछ जिन्दगी पनि

चौतारीको प्यास मेट्ने सारङ्गीले
गन्धर्व दाजुको जिन्दगीमा
आवश्यक्ताको प्यास मेटेन होला
त्यसैले त परिस्थितिको अदालतमा
सम्बन्ध विच्छेद भएकोछ
गन्धर्व दाजु र सारङ्गीको

गन्धर्व दाजु र सारङ्गीको सम्बन्ध
यदि जीवित छ भने कतै,
ईतिहासको कुनै एक कुनामा
अँटाएका दुईचार शब्दमा छ

आज उस्तै कुनामा छन्,
गन्धर्व दाजु र सारङ्गी
फरक यति हो
गन्धर्व दाजुको कुनालाई वृद्दाश्रम भनिन्छ
अनि सारङ्गी बस्ने कुनालाई
सँग्राहलय

२. यस्तो लाग्छ कहिले काँही

म उनको आँखा भैदिउँ
र हेरिदिउँ आफ्नै आँखा,
आखिर त्यस्तो के रहेछ मेरो आँखामा?
कि उनी डुबिरहन चाहान्छिन्।

यस्तो लाग्छ कहिलेकाहीँ
म उनको हात भैदिउँ
र स्पर्श गरिदिउँ आफ्नै हात।
आखिर त्यस्तो के रहेछ मेरो हातमा ?
कि उनी स्पर्श गरिरहन चाहान्छिन्

यस्तो लाग्छ कहिलेकाहीँ
म उनको छाती भैदिउँ
र आफ्नै तस्बिर टाँसेर आँफैलाई सम्झिदिउँ,
आखिर त्यस्तो के रहेछ मेरो तस्बिर टाँसेर सम्झिनुमा ?
कि उनी हरेक रात छातीमा टाँसेर मेरो तस्बिर
मलाई सम्झि रहन्छिन्

यस्तो लाग्छ कहिले काहीँ
म उनको ओठ भैदिउँ
आखिर त्यस्तो के छ र मेरो आगमनमा ?
कि सबथोक बिर्सिएर उनको ओठ
मेरो आगमनमा मुस्कुराइदिन्छ

यस्तो लाग्छ कहिले काहीँ
म उनको आँसु भैदिउँ
र छुटिने बेला उनको परेलीबाट खसि दिउँ,
आखिर त्यस्तो के छ हामी छुट्नुमा ?
कि उनको आँसु मेरो निम्ति खस्नु परोस्

यस्तो लाग्छ कहिलेकाहीँ
म उनको पैताला भैदिउँ
र हिँडिदिउँ आफैँ सँग
आखिर त्यस्तो के छ म सँग हिँड्नुमा ?
कि उनको पैताला काँडा कुल्चिएर पनि
म सँगै हिँडिरहन चाहान्छ

यस्तो लाग्छ कहिलेकाहीँ
म उनको धैर्यता भैदिउँ
र पर्खि बसुँ आफैलाई
आखिर मलाई पर्खि रहनुमा त्यस्तो के मज्जा छ ?
कि म हिँड्ने बाटोमा
घण्टौसम्म मलाई पर्खि रहन्छिन्

यस्तो लाग्छ कहिलेकाहीँ …..
म उनी भैदिउँ
अनि आफैलाई प्रेम गरिदिउँ
र थाहा पाईदिउँ
यति बिघ्न मलाई प्रेम गर्नुको रहस्य

ताकि यतिकै प्रेम गर्न सकुँ उनलाई
जो मलाई यसरी एकोहोरो प्रेम गर्छे

धरान, सुनसरी

सम्बन्धित खवर