
ताप्लेजुङ । ताप्लेजुङमा आयोजना गरिने पाथीभरा गोल्डकप फुटबल प्रतियोगिता यस वर्ष नहुने भएको छ ।
भानु माविको खेल मैदानमा हुने प्रतियोगिता लाखेजात्राको अवसर पारेर हरेक वर्ष सञ्चालन हुँदै आएको थियो । तर यस वर्ष कोरोना भाइरस संक्रमणबाट हुन सक्ने खतरालाई मध्यनजर गर्दै प्रतियोगिता नगर्ने निर्णय गरिएको प्रतियोगिता सञ्चालन समितिका अध्यक्ष नारान थापाले जानकारी दिए ।
थापाका अनुसार ‘ प्रतियोगिता सञ्चालन गर्नका लागि आर्थिक सहयोग जुटाउन पनि कठिन हुने भएकाले यस वर्ष प्रतियोगिता हुने छैन ।’ खेल सञ्चालन गर्न खेलाडी, रेफ्री, प्याराफिट बनाउने मान्छे सबै बाहिरबाट ल्याउनुपर्छ । अहिलेको विषम परिस्थितीमा उनीहरु आउने सम्भावना नरहेकोले खेल आयोजना नगर्ने निर्णय भएको हो । ’,

यस प्रतियोगितामा नेपालका ‘ए’ डिभिजन क्लब र भारतका चर्चित क्लबहरूको सहभागिता हुने खेल पुर्वको ठुलो प्रतियोगिताहरु मध्ये एक हो । उक्त खेल हेर्न पुर्वका विभिन्न जिल्लाबाट आउने गरेका थिए ।
पुर्वकै प्रसिद्ध धार्मिक स्थल पाथीभरा मन्दिरको प्रचारका लागि पाथीभरा गोल्डकपका नामबाट यस खेलकुद प्रतियोगिता सञ्चालन गरिँदै आएको अध्यक्ष थापाले बताए । यस अघि यसै प्रतियोगितालाई कञ्चनजंघा रनिङ कपको नाममा सञ्चालन भएको थियो ।
कोरोना भाइरसका कारण जिल्लाका अन्य खेलकुद प्रतियोगिता पनि प्रभावित बनेका छन् । गत चैतमा तय गरिएको राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता पनि लकडाउन भएपछि स्थगित भएको थियो । तत्काल खेलकुदका गतिविधि सञ्चालन गर्न नसकिने जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।