झापामा पोखरीमा डुबेर ३ जना बालकको मृत्यु - Mangsebung News
  • बुधबार, बैशाख २६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

झापामा पोखरीमा डुबेर ३ जना बालकको मृत्यु

झापा । झापाको भद्रपुर नगरपालिका २ मा ३ जना बालकको पोखरीमा डुबेर मृत्यु भएको छ ।

पृथ्वीनगरस्थित कमलधाप पर्यटन तथा सिमसार क्षेत्र निर्माण स्थलमा खनिएको पोखरीमा डुबेर तीन जना बालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा भद्रपुर २, डिगाउँ बस्ने अनिल तामाङको १० वर्षीय छोरा अङ्कुश तामाङ, साबिक गरामनि गाविस हाल भद्रपुर २, बस्ने कमला थामीका दुईजना छोरा अन्दाजी १४ र १२ वर्षका करण र अर्जुन थामी रहेकोे जिल्ला प्रहरी झापाका प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिए ।

बुधबार दिउँसो कसैलाई नभनी कमलधाप पर्यटन तथा सिमसार क्षेत्र निर्माणस्थलमा खनिएको पोखरीमा माछा मार्न भनि ती बालकहरु गएका थिए । तर साँझ बालकहरु साँझ घर नफर्किएपछि परिवारले खोजी गरेका थिए । खोजी गर्दै जादा बुधबार साँझ ७ बजेतिर बालक तामाङको शव पोखरीमा डुबेको अवस्था फेला परेको थापाले बताए ।

पोखरीमा एक जना बालक तामाङको शव मात्र फेला परेपछि अन्य दुई बालकको पनि खोजी गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएका बिपतका प्रहरी टोलीले बिहीबार बिहान थामी दाजुभाइको शव सोही पोखरीबाट निकालेको प्रवक्ता थापाले जानकारी दिए।

उक्त घटनाको अनुसन्धान गर्न प्रहरी टोली घटना स्थल पुगेर अनुसन्धान गरिरहेको छ । ती सिमसार क्षेत्र निर्माण स्थलमा खनिएको पोखरीमा डुबेर बालकहरुको मृत्यु भएसँगै पीडितका आफन्तजन र स्थानीय आक्रोशित छन् ।

उक्त कमलधाप पर्यटन तथा सिमसार क्षेत्र निर्माणका लागि भद्रपुर नगरपालिले निर्माण कम्पनी आरएन्डसी नयाँ युग जेभीले ठेक्का दिएको थियो ।

सम्बन्धित खवर