माङसेबुङ गाउँपालिकाले १० लाख माथिका आयोजना ठेक्का प्रक्रियाबाट कार्यन्वयन गर्ने - Mangsebung News
  • बुधबार, बैशाख २६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

माङसेबुङ गाउँपालिकाले १० लाख माथिका आयोजना ठेक्का प्रक्रियाबाट कार्यन्वयन गर्ने

माङसेबुङ । १० लाख भन्दा माथिका आयोजनाहरु इलामको माङसेबुङ गाउँपालिकाले ठेक्का प्रक्रियाबाट कार्यान्वयन गर्ने भएको छ ।

गाउँपालिकाले प्रतिस्पर्धात्मक ठेक्का प्रक्रियाबाट चालू आर्थिक वर्ष ०७७७८ देखि १० लाख भन्दा बढी बजेट विनियोजन भएका पुर्वाधारसँग सम्बन्धित आयोजनाहरु कार्यान्वयनको थालनी गर्ने भएको हो ।

सातौं गाउँसभाले पारित गरेको नीति तथा कार्यक्रम अनुसार प्रतिस्पर्धात्मक ठेक्का प्रक्रियाबाट चालू आर्थिक वर्ष ०७७।७८ देखि १० लाख भन्दा बढी बजेट विनियोजन आयोजनाहरु कार्यान्वयन गरिने गाउँपालिका अध्यक्ष डिकेन्द्र इदिङ्गोले बताए ।

यसअघि वडा तथा गाउँपालिकाका सबै आयोजनाहरु उपभोक्ता समितिमार्फत कार्यान्वयन हुँदै आएको थियो । अब १० लाख भन्दा मुनिका आयोजनाहरु मात्र उपभोक्ता समिति मार्फत कार्यान्वयन हुनेछन् ।

स्थानीय तहले आफैं ‘स्थानीय तहको उपभोक्ता समिति गठन, परिचालन तथा व्यवस्थापन सम्बन्धी कार्यविधि’ निर्माण गरी सोही बमोजिम आयोजनाहरु कार्यान्वयन गर्दै आएको थियो ।

प्रतिस्पर्धात्मक दरमा काम गराउन निर्माण व्यवसायीहरु सुचिकृत हुने व्यवस्थाको शुरुवात समेत यसै वर्षदेखि गरिने गाउँपालिकाले जनाएको छ ।

त्यसैगरी माङसेबुङ गाउँपलिकामा सञ्चालन हुने विकास निर्माण योजना तथा अन्य कार्यक्रमहरुमा प्रयोग हुने मेसिन तथा औजारहरुको दररेट माङसेबुङ गाउँपालिका भरी एउटै रहने गरी व्यवस्था गरेको छ ।

सुत्केरी स्याहार तथा पोषणका लागि ५ लाख

यसैगरि गाउँपालिकाले महिला सुत्केरी हुँदा सुत्केरी स्याहार तथा पोषणका लागि अनुदान दिन ५ लाख रुपैयाँ विनियोजन गरेको छ ।

आर्थिक वर्ष ०७७८७ का लागि सुत्केरी स्याहार तथा पोषण कार्यक्रम अन्तरगत सो रकम विनियोजन गरेको हो ।

प्रसुतिको नियमित जाँच गराउन, संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्न तथा समयमा नै जन्म दर्ता गर्ने कार्यलाई प्रोत्साहित गर्न सुत्केरी स्याहार तथा पोषण कार्यक्रम सुरु गरिएको गाउँपालिकाले जनाएको छ ।

सो कार्यक्रम अन्तरगत प्रति सुत्केरी महिलालाई गाउँपालिकाले आवश्यक प्रक्रिया पूरा गरी एकमुष्ठ ५ हजार रुपैयाँ उपलब्ध गराउँदै आएको छ ।

सम्बन्धित खवर