प्रदेश १ का मुख्य न्यायाधिवक्तालाई कोरोना संक्रमण - Mangsebung News
  • बुधबार, बैशाख १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

प्रदेश १ का मुख्य न्यायाधिवक्तालाई कोरोना संक्रमण


विराटनगर । प्रदेश १ का मुख्य न्यायाधिवक्ता चूडामणि आचार्यलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ ।

विराटनगर–५, स्थायी ठेगाना भएका मुख्य न्यायायाधिवक्ता आचार्यसहित परिवारका तीन जनामा समेत कोरोना पोजेटिभ देखिएको छ । आफ्नो परिवारमा अहिले आफू र परिवारका सदस्यहरुलाई कोरोना संक्रमण देखिए पनि अवस्था सामान्य रहेको आचार्यले बताए ।

नियमितरुपमा कार्यलयको काम र बैठकहरुमा सहभागी भएका आचार्यलाई कहाँबाट संक्रमण भयो भन्ने खुलेको छैन ।

मुख्य न्यायाधिवक्ता आचार्यका अनुसार उनलाई १० र १२ दिन अगाडि दुई दिनजति सामान्य ज्वरो आएको र सिटामोल खाएपछि ठीक भएको थियो । संक्रमण भएको हो कि भन्ने आशंकाको र अरुलाई नसरोस् भनी घरमै आइसोलेसनमा बसिराखेको थिएँ ।’

केही ठिक भएपछि आइतबार उनीसहित उनका घरका सदस्यको कोरोना परिक्षण गर्दा परिवारका तीनजना सदस्यको रिपोर्ट पोजेटिभ आएको हो । उनीहरु तीनै जनालाई उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजाने तयारी छ ।

बैठकहरुका क्रममा सुरक्षाकर्मी वा अरु कसैबाट कोरोना सरेको हुन सक्ने आचार्यको अनुमान छ । उनी भन्छन्, ‘विभिन्न ठाउँहरुमा मिटिङहरु गरिरहनुपर्ने हुन्छ । प्रायःजसो सेक्युरिटीवालाहरुलाई, पुलिसहरुलाई देखिएको छ । पुलिसहरु वरिपरि हुन्छन्, हिँड्दाखेरि सिँढीको रेलिङहरु समातिन्छ । ढोकाहरु खोल्नुप¥यो, कुर्सीहरुमा बसिन्छ ।’ तर कहा र कसरी संक्रमित भएको भने थाहा नभएको बताए ।

प्रदेश सरकारका मुख्य न्यायाधिवक्तालाई नै कोरोना देखिएपछि मुख्यमन्त्री, मन्त्री र प्रदेश सरकारका कर्मचारीहरु सतर्क बनेका छन् । यो घटनाले अब भीआईपीहरु पनि असुरक्षित रहेको संकेत गरेको छ ।

सम्बन्धित खवर