श्रमदानबाट अनुदानसम्म माङसेबुङ चक्रपथ - Mangsebung News
  • मङ्गलबार, जेठ ०८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

श्रमदानबाट अनुदानसम्म माङसेबुङ चक्रपथ


  • ज्ञानु केदेम

माङसेबुङ / धार्मिक पर्यटकीय क्षेत्र, किरात समुदायको केन्द्रीय धार्मिकस्थल इलामको माङसेबुङमा श्रमदानबाट निर्माण गरिएको ५.५ कि. मि. को माङसेबुङ चक्रपथलाई स्तरोन्नति गर्ने काम धमाधम भइरहेको छ ।

यसरी किरात धर्मावलम्बीहरुको श्रमदानबाट निर्माण गरिएको साढे ५ किलोमिटरको सो चक्रपथ (रिङरोड) लाई स्तरोन्नति गर्न पछिल्लो समय किरात धर्मावलम्बीहरुको श्रमदानले मात्र अपुग हुँदै गएपछि नेपाल सरकारले पनि लगानी गर्न सुरु गरेको छ । चक्रपथको स्तरोन्नतिका लागि नेपाल सरकारको पनि लगानी आउन थालेको किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङले बताए ।

प्रदेश सरकार आर्थिक वर्ष २०७४÷०७५ मा विनियोजन गरिएको रकमले माङसेबुङ चक्रपथ (रिङरोड) को विस्तृृत परियोजना सर्वेक्षण (डि.पि.आर) गरिएको माङसेबुङ गाउँपालिकाका उपाध्यक्ष सुनिता सुब्बाले बताएकी छन् । उपाध्यक्ष सुब्बाका अनुसार यसरी डि.पि.आर गरिएपछि आर्थिक वर्ष ०७५÷०७६ मा २ करोड र गत आर्थिक वर्ष ०७६÷०७७ मा विनियोजित २ करोड बजेटले चक्रपथको स्तरोन्नति गर्ने काम भएको थियो ।

किरात धर्मावलम्बीहरुले माङसेबुङमा रहेको किरात हाङसाम मुजोत्लुङ माङहिममा गाडीको बाटो पु¥याएपछि वि.स. २०५९ साल असारबाट माङसेबुङ चक्रपथ (रिङरोड) निर्माण कार्य प्रारम्भ गरेका थिए । १० वर्षे द्धन्द्धकाल चरमसीमा पुगेको समयमै सुरु गरिएको रिङरोड निर्माण गर्न किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिको मातहत संस्था किरात साम्यो सुनुगेन थक्सुबा मुजोत्लुङ पान्जुम्भोले संयोजन गरेको थियो ।

यसरी निर्माण गर्न सुनुगेन थक्सुवा पान्जुम्भो, तत्कालीन माङसेबुङमा रहेका युवादस्ता कम्ब्राङ, नालीफूङ्वा लगायत किरात धर्मावलम्बी भक्तजनहरुले श्रमदान दिएका थिए । त्यसैगरी माङसेबुङमा बसोबास गर्ने विभिन्न (थर) सयङ र माङसेबुङमा रहेका विभिन्न टोलटोललाई विभाजन गरेर जिम्मेवारी दिइएर निर्माण गरिएको किरात साम्यो सुनुगेन थक्सुबा मुजोत्लुङ पान्जुम्भोका तत्कालीन अध्यक्ष जगतराम कङलिवाको कथन छ ।

यसरी संसारभर महामारीको रुपमा फैलिरहेको कोरोनाले नेपाल पनि बन्दाबन्दी अवस्थामै आर्थिक वर्ष २०७६/०७७ को अवधि सकिएको छ । त्यसैले चालु बजेट कार्यान्वयन र आगामी नयाँ बजेट तर्जुमामा संघीय सरकार, प्रदेश सरकार र स्थानीय तह ३ वटै निकायले प्रभावकारी नीति योजना बनाउन असफल बनेका छन् ।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको उच्च जोखिमलाई ध्यानमा राखी सामाजिक दूरी कायम गर्दै, किरात धार्मिक पर्यटकीय तिर्थस्थल माङसेबुङमा विकास निर्माणका कार्यहरु गरिएको उपभोक्ता समितिको भनाई छ । माङसेबुङमा किरात धर्मावलम्बीहरुको आर्थिक सहयोगमा सयौं संरचना बनाइएको छ । असंख्य संरचनाहरु निर्माण हुने क्रम समेत जारी छ । यसरी किरात धर्मावलम्बीहरुको सहयोगमा निर्माण गरिएका भौतिक संरचनाहरुमा पछिल्लो समय सरकारले पनि थप निर्माण कार्यका लागि बजेट विनियोजन गर्दै आएको छ ।

यसरी स्थानीय तह अन्र्तगत माङसेबुङ–५, वडा सिलिङबाट, माङसेबुङ गाउँपालिकाबाट र प्रदेश सरकारबाट आर्थिक वर्ष २०७६÷०७७ को बजेट कार्यक्रमबाट विनियोजित बजेटलाई कार्यान्वयन गर्ने क्रममा इलामको माङसेबुङ गाउँपालिका स्थित किरात धर्मावलम्बीहरुको आस्थाको धरोहर माङसेबुङ परिसरमा सञ्चालित विकासका पूर्वाधारहरुको संक्षिप्त चर्चा गरिएको छ ।

डोजर, जेसिभि कुनै प्रयोग नगरी झम्पल, कोदालो, पेल्चाको सहायताले निर्माण गरिएको साढे ५ किलोमिटरको चक्रपथ करिब २ वर्षपछि निर्माण कार्य सम्पन्न गरी वि.स. २०६१ साल कार्तिक २५ गते मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङदेनको १२० औ जन्मजयन्ती तथा संकल्पीत सेवा समारोह आयोजना गरी तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले सो चक्रपथलाई उद्घाटन गरेका थिए ।

धार्मिक पर्यटकीयस्थल माङसेबुङमा निर्माण गरिएको संरचनाहरु सरकारी वजेट विहीन भक्तजनहरुको श्रमदानबाट वनाइएका छन् । यसरी किरात धर्मावलम्बीहरुको आर्थिक सहयोगमा सयौं संरचना बनाइएको छ । असंख्य संरचनाहरु निर्माण हुने क्रम समेत जारी छ । किरात धर्मावलम्बीहरुको सहयोगमा निर्माण गरिएका भौतिक संरचनाहरुमा पछिल्लो समय सरकारले पनि थप निर्माण कार्यका लागि बजेट विनियोजन गर्दै आएको स्थानीय किरात धर्मावलम्बीहरुको भनाई छ ।

माङसेबुङ परिसरमा निर्माणाधीन संरचनाहरु
विश्व स्वास्थ्य संगठनले विश्व महामारी प्रकोपको रुपमा घोषणा गरेको नोवेल कोरोना भाइरस (कोभिड–१९) को संक्रमणले विश्वमै संकट उत्पन्न भएको छ । कोरोनाको उच्च जोखिमलाई ध्यानमा राख्दै नेपाल सरकारले घोषणा गरेको बन्दाबन्दी (लकडाउन) निरन्तर रहेपनि कोरोना नियन्त्रण हुन सकेको छैन् ।

माङसेबुङ गाउँपालिका वडा नं. ५, को वडा स्तरीय भवन निर्माण गरिएको छ । माङसेबुङ गाउँपालिकाबाट विनियोजित १३ लाख रकमबाट सो भवन निर्माण गरिएको भवन निर्माण उपभोक्ता समितिका सचिव प्रकाश सावदेनको भनाई छ ।

त्यसैगरी खानेपानी तथा सरसफाई डिभिजन कार्यालय इलामबाट विनियोजित रकमबाट सञ्चालित बाँझो ८ र ९ खानेपानी तथा सरसफाई स्किम न. १, गुरु आश्रमको खानेपानी ट्याङकी समेत निर्माण गरिएको उपभोक्ता समितिका कोषाध्यक्ष राजेन्द्र विक्रम खजुमले बताए । कोषाध्यक्ष खजुमका अनुसार निजी गुरु आश्रमको लागि निर्माणाधीन सो ट्याङकी १ लाख लिटर क्षमताको रहेको छ ।

माङसेबुङ गाउँपालिका वडा नं. ५, को वडा सिलिङबाट विनियोजन गरिएको २० लाख रुपैंयाँले गुरु आश्रम दर्शनशाला भवन निर्माण थालिएको छ । वडाबाट विनियोजन गरिएको रकमले भवनको जग मात्र उठेको र यस वर्ष विनियोजन भएको रकम सकिएकोले भवन निर्माणको काम रोकिएको उपभोक्ता समितिका अम्बरसिं लाओतीको भनाई छ ।

निजी गुरुआश्रममा प्रवेश गर्ने प्रवेश द्धारका लागि गेट निर्माण भइरहेको छ । अधुरो प्रवेश द्धारको नाममा प्रदेश सरकारबाट विनियोजित रकमले २ वटा गेट निर्माण भइरहेको उपभोक्ता समितिले जनाएको छ । प्रदेश सरकारको चालु बजेटबाट विनियोजित ३० लाख रुपैंयाले धमाधम गेट निर्माण भईरहेको उपभोक्ता समितिका अध्यक्ष टिकाराम केरुङको भनाई छ ।

यसरीनै माङसेबुङ गाउँपालिकाबाट विनियोजित रकमबाट निर्माण गरिएको बुधबारे शाकाहारी वजार भवन निर्माण कार्य पूरा भएको छ । चालु आर्थिक वर्षमा विनियोजन भएको ५ लाख रुपैंयाले निर्माण गरिएको उपभोक्ता समितिका सचिव निश्चल तबेबुङले बताए ।

माङसेबुङमा यलम्बरको प्रतिमा
धार्मिक पर्यटकीय क्षेत्र किरातीहरुको आस्थाको केन्द्र माङसेबुङमा प्रथम किरात राजा यलम्बरको शालिक स्थापना हुने भएको छ । इलामको माङसेबुङ गाउँपालिका वडा नं–५, स्थित बुधबारे शाकाहारी हटिया वजारमा स्थापना गर्न लागिएको प्रथम किरात राजा यलम्बरको शालिकलाई गत जेठ ११ गते किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङले शिलान्यास गर्नुभएको हो ।

प्रथम किरात राजा यलम्बरको पूर्ण कदको शालिक

किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङले शिलान्यास गर्नुभएसँगै माङसेबुङमा प्रथम किराती राजा यलम्बरको शालिक स्थापना हुने पक्का भएको हो । शिलान्यासको क्रममा किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङले यलम्बरहाङको शालिक स्थापना हुनु गौरवको महसुस भएको बताउनुहुँदै, यलम्बरहाङ किरातहरुको पहिलो राजा र महात्मा भएको बताउनु भएको छ ।

किरात धर्मगुरुज्यूले विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) बाट बच्न सबैलाई सचेत रहन र सुरक्षित रहन आग्रह समेत गर्नुभएको थियो । वहाँले कोराना एउटा सामान्य महामारी रोग मात्र भएको बताउनुहुदैं कोरोना भन्दा अझै खतरा मानव संहार हुने रोगहरु आउने संकेत समेत गर्नुभयो ।

माङसेबुङ गाउँपालिकाको आर्थिक वर्ष ०७६/२०७७ वजेट कार्यक्रम अन्र्तगत विनियोजित १० लाख रकमबाट प्रथम किरात राजा यलम्बरको पूर्ण कदको शालिक स्थापना गरिएको शालिक निर्माण उपभोक्ता समितिका अध्यक्ष जसहाङ सावदेनले बताए ।

सम्बन्धित खवर