झापामा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक जनाको ज्यान गयो - Mangsebung News
  • आइतबार, असार २२, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

झापामा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक जनाको ज्यान गयो


झापा । झापा गाँउपालिका ३, कामाटोलीमा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक जनाको ज्यान गएको छ ।

स्थानीयबासीले सुरक्षाकर्मीमाथि आक्रमण गरेपछि आत्मरक्षाका लागि सशस्त्र प्रहरीले गोली चलाउदा गोली लागेर कामाटोलीका ३८ वर्षीय रमिकुल आलमको ज्यान गएको हो ।

गोरु काटेको खबर पाएपछि गएको प्रहरी टोलीले थप मद्दत मागेपछि गएको सशस्त्र प्रहरीमाथि स्थानीयबासीले आक्रमण गरेपछि सशस्त्रले गोली चलाएको थियो ।

सो क्रममा गोली लागि गम्भीर घाइते भएका ३८ वर्षीय आलमको बी एण्ड सी अस्पताल विर्तामोडमा उपचारका क्रममा साँझ सवा ७ बजेतिर मृत्यु भएको अस्पताल सञ्चालक दुर्गा प्रसाईँले जानकारी दिए ।

स्थानीयले काटेको गोरुको टाउको र खुट्टा प्रहरीले बरामद गरेपछि आक्रोशित बनेका स्थानीयबासीले सशस्त्र प्रहरीमाथि नै आक्रमण गरेको बताइएको छ ।

झापा गाउँपालिकाका प्रमुख जयनारायण साहका अनुसार गोरु काटेको निहुँमा प्रहरीले दिउँसो दुई जनालाई पक्राउ गरेर सदरमुकाम लान खोजेपछि स्थानीयबासी प्रहरीमाथि नै आक्रमणमा उत्रिएका थिए ।

प्रहरीको गोली लागि आलमको मृत्यु भएपछि सो क्षेत्र असामान्य बनेको छ । स्थानीयबासीले टायर बालेर विरोध गरिरहेका छन् ।

सम्बन्धित खवर