राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द जन्मजयन्तीबारे संघको धारणा सार्वजनिक - Mangsebung News
  • आइतबार, जेठ ०६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द जन्मजयन्तीबारे संघको धारणा सार्वजनिक

माङसेबुङ । किरात धर्म दर्शनदाता, महान समाज सुधारक तथा राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङ्देनको १३६ औं जन्मजयन्ती समारोह मनाउने विषयमा किरात धर्म तथा साहित्य उत्थान संघ केन्द्रीय समितिले आधिकारिक धारणा सार्वजनिक गरेको छ ।

किरात धर्म तथा साहित्य उत्थान संघका अध्यक्ष डकेन्द्रसिंह थेगिम र मुख्य सचिव संकल्प लिङ्देनको संयुक्त हस्ताक्षरमा मंगलबार जारी गरेको जानकारी पत्रमा विगतका वर्षहरुमा महागुरुको जन्मजयन्ती समारोह केन्द्रीय कार्यक्रम आयोजना गरी भव्य मनाउँदै आएको भए पनि यस वर्ष कुनै केन्द्रीय कार्यक्रम आयोजना नगरिएको जनाइएको छ ।

जानकारी पत्रमा भनिएको छ ‘वर्तमान अवस्थामा विश्वव्यापी फैलिरहेको कोरोना भाइरस (कोभिड १९ ) का कारण ठूलो जमघट, आम भेला गरी कुनै पनि कार्यक्रमहरु सम्पन्न गर्न नसकिने अवस्था भएकोले सो विषम परिस्थितीलाई ख्याल गर्दै यस वर्ष २०७७ साल कार्तिक २५ मा सम्पन्न हुने किरात धर्मदर्शनदाता, राष्ट्रिय विभूति, महान समाज सुधारक मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङ्देनको १३६ औं जन्मजयन्ती समारोह सम्पूर्ण किरात धर्म सम्बद्ध एंव मातहत संघ संस्थाहरु र माङहिमहरुले विश्व शान्ति र चराचर जगतप्राणीको रक्षाको लागि सामाजिक भौतिक दूरीलाई ख्याल गरी सेवापूजा सहित आ—आफ्नो अनुकूलमा जन्मजयन्ती कार्यक्रम सम्पन्न गर्न, गराउन जानकारीको लागि अनुरोध छ ।’

महागुरु फाल्गुनन्दको जन्मजयन्तीको दिन बेलुकी हरेक माङहिम, मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङ्देनको शालिक र प्रत्येक किरात धर्मावलम्बीहरुको घर घरमा दीपावली गरी जन्मजयन्ती कार्यक्रम मनाउन जानकारी गराइएको छ ।

यस वर्ष महागुरुको जन्मजयन्ती कहाँ र कसरी मनाउने भन्ने अन्योलतालाई यसरी संघले जारी गरेको जानकारीले समाधान गरेको छ भने महागुरु फाल्गुनन्दको जन्मजयन्ती आ–आफ्ना ठाउँमा मनाउन सकिने बाटो पनि खोलिएको छ ।

जानकारी पत्र

सम्बन्धित खवर