धर्मको महलमा किरात लेख्न किरात याक्थुङ चुम्लुङको अपिल - Mangsebung News
  • आइतबार, जेठ ०६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

धर्मको महलमा किरात लेख्न किरात याक्थुङ चुम्लुङको अपिल

माङसेबुङ । लिम्बू समुदायहरुको सामाजिक संस्था किरात याक्थुङ चुम्लुङले २०७८ सालमा हुने राष्ट्रिय जनगणनामा धर्मको महलमा ‘किरात’ लेख्न आम लिम्बू समुदायमा अपिल गरेको छ ।

चुम्लुङले जाति, मातृभाषा र पुख्र्यौली भाषामा ‘लिम्बू’ नै लेख्न समेत अपिल गरेको छ । जनगणनाका लागि जाति, मातृभाषा र पुख्र्यौली भाषामा लिम्बू र धर्ममा किरात लेख्नका लागि आगामी मंसिरपछि समुदायमा अभियान चलाइने चुम्लुङका अध्यक्ष योगराज वनेम लिम्बूले बताए ।

अध्यक्ष लिम्बूका अनुसार चुम्लुङले २०७६ सालको राष्ट्रिय सम्मेलन, सोभन्दा अगाडिको अन्तर्राष्ट्रिय सम्मेलन तथा महाधिवेशनहरुले निर्णय तथा अनुमोदन गरेअनुसार नै २०७८ सालको जनगणनामा धर्ममा किरात लेख्न अपिलसहित अभियान चलाउन लागेको हो ।

लिम्बूहरुमा मौलिकताको बहस जारी भए पनि जनगणनामा तथ्यांकको महत्व हुने भएकोले अहिलेका लागि किरात धर्म नै लेखाएर जानुपर्ने चुम्लुङको धारणा रहेको अध्यक्ष लिम्बूको भनाई छ ।

‘हाम्रा अनुष्ठान र अभ्यासहरुलाई कसरी मौलिक बनाउने भन्ने कुरा बहसमा छ,’ अध्यक्ष लिम्बूले भने, ‘तर अहिले राष्ट्रिय जनगणनाको सन्दर्भ भनेको चाहिँ तथ्यांकलाई बलियो बनाउने र एकजुट बनाउने सन्दर्भ भएको हुनाले धर्मको महलमा किरात नै लेखेर जाऔ भन्ने हाम्रो धारणा छ ।’

लिम्बूहरुको संस्कारहरुलाई मौलिक र पहिचानयुक्त बनाउने बहस जायज रहेको र यो बसह पछि पनि जारी रहने उनको भनाई छ ।

‘जातिमा लिम्बु लेखाएर जाऔ भन्ने कुरा समानुपातिक समावेशी आरक्षणको व्यवस्थालाई अभ्यास गर्नका लागि हो, मातृभाषालाई सरकारी कामकाजको भाषाको रुपमा स्थापित गराउन र मान्यता दिलाउन लिम्बू भाषा लेख्नुपर्छ,’ उनले थपे, ‘धर्मको बारेमा पनि हामीले राज्यलाई धर्मनिरपेक्षता र हाम्रो उपस्थितिको तथ्य दिनका लागि यो बल गरेका हौ ।’

लिम्बु समुदायभित्र पछिल्लो समय धर्मको विषयमा किरात कि युमा ? भन्ने बहस जारी छ भने जातिको विषयमा समेत लिम्बू कि याक्थुङ भन्ने बहस छ । जातिमा लिम्बु भन्दा याक्थुङ लेख्दा मौलिक हुने कतिपयको तर्क रहेको छ ।

नेपालमा हरेक दश वर्षमा हुने राष्ट्रिय जनगणना आगामी २०७८ साल जेठ २५ देखि असार ८ गतेसम्म सञ्चालन हुनेछ ।

जनजणनामा आ–आफ्नै मौलिक जाति, भाषा, धर्म लेख्ने र लेखाउनका लागि हाल आदिवासी जनजातिजन्य जातीय संस्थाहरुले जनचेतना अभियानको तयारी गरिरहेका छन् ।

सम्बन्धित खवर