
मिक्लाजुङ । पाँचथरको मिक्लाजुङ गाउँपालिका– ४ रवि बजारमा कोरोना भाइरस(कोभिड–१९)को संक्रमणबाट एक व्यक्तिको मृत्यु भएको छ ।
मंगलबार बेलुकी कोरोना भाइरस(कोभिड–१९)को संक्रमणबाट ४७ वर्षीय व्यक्तिको होम आइसोलेसनमै मृत्यु भएको गाउँपालिका उपाध्यक्ष उर्मिला राईले जानकारी दिइन् ।
राईका अनुसार ज्वरो आएका ती व्यक्ति उपचारका लागि गत कात्तिक २८ गते विराटनगरको नोबेल अस्पताल गएकोमा पीसीआर परीक्षण गर्दा कोरोना पुष्टि भएसंगै उनी २९ गते फर्किएर घरमै बसेका थिए ।
उपाध्यक्ष राईका अनुसार परिवारका अरू सदस्यमा पनि संक्रमणको लक्षण देखिएको छ । पाँचथरमा पछिल्लो एक सातामा संक्रमणका कारण दुई जनाको ज्यान गएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।