अङसीमाङ लिङ्देन आत्मानन्द ‘सेइङ’ ६७ औं जन्मोत्सवको तयारी अन्तिम चरणमा - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

अङसीमाङ लिङ्देन आत्मानन्द ‘सेइङ’ ६७ औं जन्मोत्सवको तयारी अन्तिम चरणमा

माङसेबुङ । मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङको ६७ औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन नोमाङगेन्ना सेवा समारोहको तयारी अन्तिम चरणमा पुगेको छ ।

हरेक वर्ष मंसिर १८ मा वृहत रुपमा मनाइदैं आएको अङसीमाङको जन्मोत्सव कोरोनाको जोखिमका कारण यसवर्ष बिहीबार (भोली) आयोजना गरिएको शुभजन्मोत्सव कार्यक्रम प्रभावित भएपनि तयारी अन्तिम चरणमा पुगेको हो ।

कोरोना भाइरस महामारीका कारण सरकारले तोकेको स्वास्थ्य मापदण्डको पालना गर्दै सामाजिक, भौतिक दुरी कायम गरी जन्मोत्सव मनाइने मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङको ६७ औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन नोमाङगेन्ना सेवा समारोह आयोजक समितिका अध्यक्ष केहेरसिं योङहाङले बताए ।

कोरोनाका कारण विगतमा जस्तो यसवर्ष जन्मोत्सवका लागि प्रचारप्रसार गरी भक्तजनहरुलाई निमन्त्रणा पनि नगरिएको अध्यक्ष योङहाङको भनाई छ ।

जन्मोत्सवको अवसरमा यसवर्ष विगतको कार्यक्रमहरु जस्तै कार्यक्रम संचालन हुने, छैनन् । सामान्य रुपमा दीप प्रज्वलन गरी गुरुको माङगेन्ना गर्ने, ६७ जना सेवासेवाहरुबाट मुन्धुम वाचन गर्ने र माङ्गेन्ना चामल वितरण मात्र गरिने आयोजकले जनाएको छ ।

हरेक वर्ष मुलुकको उच्च ओहोदाका व्यक्तिहरुको उपस्थिती हुने जन्मोत्सवमा यस वर्ष नेकपा संसदिय दलका उपनेता तथा संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्बाङ आउने भएका छन् । मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङको जन्मोत्सव कार्यक्रमको उद्घाटन समारोहमा दीप प्रज्वलन गर्न तथा धर्मगुरुलाई शुभकामना दिन सांसद नेम्बाङ माङसेबुङ आउन लागेका हुन् ।

इलामको माङसेबुङ गाउँपालिका २ इभाङको चुक्चिनाम्बा अगौटेबारीमा २०११ मंसिर १८ गते शुक्रबार जन्मिनु भएका मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङले किरकात धर्मदर्शन दाता, समाज सुधारक तथा राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङदेनको अपूरो, अधुरो कार्यलाई पूर्णता दिने क्रममा धार्मिक, सांस्कृतिक तथा सामाजिक रुपान्तरणमा अभियान चलाइरहनु भएको छ । वहाँलाई सत्य, शान्ति, अहिंसा र एकताका संबाहकको रुपमा किरात धर्मावलम्बीहरुले मान्ने र पुज्ने गरेका छन् ।

नाम्धुङ लाधुङ सेमी सेवा

मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङको ६७ औं शुभजन्मोत्सवको अवसरमा विगतका वर्ष झै येत नाम्धुङ लाधुङ सेमी सेवा आयोजना गरिएको छ ।

समारोहको सेवा सञ्चालन विभाग किरात साम्यो माङसेवासाबा पान्जुम्भोको संयोजनमा मंगलबार साक्मुरा वादेम्मा गरिएको र बुधबार (आज) किरात हाङसाम मुजोत्लुङ माङहिममा येत नाम्धुङ लाधुङ सेमी सेवा सञ्चालन हुने जनाइएको छ ।

त्यसैगरी भव्य रुपमा आयोजना गरिँदै आएको आत्मानन्द गोल्ड कप यस वर्ष कोरोनाका कारण स्थगन गरिएपनि सामान्य स्थानीय माङसेबुङ परिसरका खेलाडीहरुको सहभागितामा १ दिने खेलकुद कार्यक्रम आयोजना गरिएको समारोहका खेलकुद विभाग संयोजक किरात साम्यो हक्चात यक्चुमका अध्यक्ष मनकुमार आङबुहाङले बताए ।

यसरी समारोहको सांस्कृतिक विभाग किरात साम्यो साक्थिम्गेन पान्जुम्भोले पनि कार्यक्रममा प्रस्तुत गरिने स्वागत गीतहरु तयारी गरिसकेको जनाएको छ । विगतका वर्षमा भव्य सांस्कृतिक कार्यक्रमको संयोजन गर्दै आएको साक्थिम्गेनले यसवर्ष कोरोनाका कारण सामान्य औपचारिक कार्यक्रममा चाहिने प्रस्तुति मात्र तयार पारेका सांस्कृति संयोजक रामबहादुर थुलुङले बताए ।

समारोहको स्वंयमसेवक विभाग संयोजक किरात साम्यो नालीफूङवा पान्जुम्भो र सरसफाई विभाग संयोजक किरात साम्यो थामेन्दीङमा पान्जुम्भोले पनि सम्पूर्ण जिम्मेवारी पूरा भइसकेको जनाईएको छ । विभाग उपसमितिहरुले बुधबार (आज) साँझसम्ममा सम्पूर्ण आआफ्ना विभागीय जिम्मेवारी पूरा गर्ने गरी काम धमाधम गरिरहेको मूल समारोहका अध्यक्ष योङहाङको भनाई छ ।

जन्मोत्सवमा सार्वजनिक विदा

मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङको ६७ औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन नोमाङगेन्नाको दिन विहीबार (मंसिर १८ गते) माङसेबुङ गाउँपालिकाले सार्वजनिक विदा दिएको छ ।

गाउँकार्यपालिकाको बैठकले हरेक वर्ष मंसिर १८ गते स्थानीय सार्वजनिक विदा दिने निर्णय गरेको हो । यो निर्णयलाई किरात धर्मावलम्बीहरुले ऐतिहासिक निर्णय भएको भन्दै स्वागत गरेका छन् ।

 

सम्बन्धित खवर