विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध सत्तारूढ नेकपाको दाहाल–नेपाल समूहले अविश्वासको प्रस्ताव दर्ता गरेको छ ।
आइतबार बिहान मुख्यमन्त्री राईविरुद्ध प्रदेशसभा सदस्य इन्द्रबहादुर आङ्बोको अगुवाइमा प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गरिएको हो ।
दाहाल–नेपाल समूहका ३७ जना प्रदेशसभा सदस्यले अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका छन् ।
अविश्वासको प्रस्ताव दताभए संगै प्रदेश १ को मुख्यमन्त्री शेरधन राई पार्टीको संसदीय दलको नेताबाट बर्खास्त भएका छन् ।
मुख्यमन्त्री राईलाई नेकपाको प्रचण्ड–माधव समूहको संसदीय दलको बैठकले दलको नेताबाट बर्खास्त गरेको हो ।
अविश्वासको प्रस्तावमा अबको मुख्यमन्त्रीमा भीम आचार्यलाई प्रस्ताव गरिएको छ । उक्त प्रस्तावको प्रस्तावक इन्द्र बहादुर आङ्बो र समर्थकमा लछुमन तिवारी रहेका छन् ।
९३ सदस्य रहेको प्रदेशसभामा नेकपाको ६७ जना सदस्य छन् । पार्टी विभाजनपछि ओली समूहमा १९ र प्रचण्ड–माधव समूहमा ४८ जना सदस्य छन् । प्रदेशसभामा नेपाली काँग्रेसको २१, जसपाको ३, संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चको १ र राप्रपाको १ सदस्य छन् ।