मान्छेको सह हराएमा संसार उजाड हुने छ : आत्मानन्द सेइङ - Mangsebung News
  • शुक्रबार, बैशाख ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

मान्छेको सह हराएमा संसार उजाड हुने छ : आत्मानन्द सेइङ

  • ज्ञानु केदेम लिम्बू

माङसेबुङ/ संसारमा उत्कृष्ट क्षमता भएको मान्छे बन्न माङसँग आशीर्वाद माग्नुपर्ने किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङले बताउनु भएको छ । वहाँले भन्नु भयो, आशीर्वाद माग्न यहाँ संसारका विभिन्न जाति, समुदायहरु आउने गरेका छन् ।’

अङसीमाङले थप्नु भयो, ‘खिबेक्वा याक्वा सेवा (उभौली पर्व) मा विशेष गरी माङवाहाङवा माग्दा अन्न सह, धन सह, माङथिम, हाङथिमको सह, ज्ञान, बुद्धि विवेकको सह माग्नु पर्छ ।’ आशीर्वचनमा वहाँले भन्नु भयो, ‘मान्छेको सह कम छ, मान्छेको सह हराएर गए संसार उजाड हुने छ ।’

वहाँले सो कुरा धार्मिक पर्यटकीयस्थल इलामको माङसेबुङमा मंगलबार सम्पन्न सावायेहाङ किरात खिबेक्वा याक्वा सेवा तथा माङवाहाङवा वितरण समारोह अन्तर्गत आशीर्वचन तथा माङवाहाङवा वितरण कार्यक्रममा आशीर्वचन दिनुहुँदै बताउनु भएको हो ।

आशीर्वचन दिनु हुँदै अङसीमाङले हामी मानवहरु सृष्टिकालमा सबै नाङ्गै अवस्थामा रहेको र सृष्टीकालदेखि सुरुवात भएको भाषा, गीत संगीतहरु प्रयोग हुँदै आएको बताउनु भएको छ । मानव उत्पतिकालमा युमा माङले खान, लाउन, खेतिपाति गर्न सिकाएको अङसीमाङले बताउनु भएको छ ।

क्रोध, घमण्ड, अहंकार र पाप कर्मले हामीलाई नाश गराउने बताउनु हुँदै, अङसीमाङले थप्नु भयो, ‘धर्मको ज्ञान चाहिन्छ, धर्म र गुरु बिना पार तरिन्दैन ।’ धर्मको महिमाबारे प्रष्ट पार्नु हुँदै, कुनै मान्छे अन्तरिक्षमा पुगिसकेको र कोही जंगलमै रहनु परेको बताउनु भएको हो ।

नेपालमा अशान्ति हुने सम्भावना रहेको आशीर्वचनको क्रममा अङसीमाङले संकेत गर्नु भएको छ । अशान्ति, दुःखहरु सामान्य भएर जाओस भनि नित्य सेवा भइरहेको बताउँनु हुँदै, हरेक साँझ विहान माङ सेवा गर्न छोडनु नहुने वहाँले सुझाउनु भएको छ । माङसेबुङ शिद्धभूमि (माङ चोत्लुङ, हाङ चोत्लुङ) पाउने पवित्र भूमि भएको समेत अङसीमाङले प्रष्ट पार्नु भएको छ ।

किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूहरुको समुपस्थितीमा सम्पन्न कार्यक्रममा किरात धर्म सम्बद्ध संघ सस्था, सामाजिक संघ संस्था र राजनीतिक संगठनका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

हरेक वर्ष माघ ४, ५ र ६ मा वृहत रुपमा मनाइदैं आएको खिबेक्वा याक्वा सेवा (उभौली पर्व) कोरोनाको जोखिमका कारण यसवर्ष कोरोना भाइरस महामारीका कारण सरकारले तोकेको स्वास्थ्य मापदण्डको पालना गर्दै सामाजिक, भौतिक दुरी कायम गरी समारोह मनाइएको समारोहले जनाएको छ ।

खिबेक्वा याक्वा सेवाको अवसरमा विगतका वर्ष झै शनिबार साक्मुरा वादेम्मा गरिएको र आइतबार किरात हाङसाम मुजोत्लुङ माङहिममा येत नाम्धुङ लाधुङ सेमी सेवा सञ्चालन गरिएको थियो । भने, सोमबार मूल समारोह समुद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।

यसरी समारोहमा सांस्कृतिक विभाग किरात साम्यो साक्थिम्गेन पान्जुम्भोका केन्द्रीय कलाकारहरुबाट नृत्य, गायन प्रस्तुति साथै किरात साम्यो माङसिवाखाहुन पान्जुम्भोबाट युमा लाङ, थेबा लाङ प्रस्तुत गरिएको थियो ।

त्यसैगरी अङसीमाङ तथा अङसीमामाङहरुको हस्तबाहुलीमा माङ मिक्तोक (उपहार) तथा अभिनन्दन चढाइने, समारोह सम्पन्न गर्न सहयोग गर्ने महानुभावहरुलाई धन्यवाद पत्रद्धारा सम्मान गरिने गरिएको समारोहले जनाएको छ । खिबेक्वा याक्वा सेवा (उभौली पर्व) को विशेष कार्यक्रमको रुपमा माङवा हाङवा (बीउविजन) वितरण कार्यक्रम सञ्चालन गरिएको थियो ।

सावायेहाङ किरात खिबेक्वा याक्वा सेवा तथा माङवाहाङवा वितरण समारोहका अध्यक्ष तथा किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङको अध्यक्षतामा समारोह सम्पन्न गरिएको छ ।

 

 

सम्बन्धित खवर