माङसेबुङमा पवित्रहाङमा कप खेलकुद प्रतियोगिताको तयारी सुरु - Mangsebung News
  • बिहिबार, चैत १५, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

माङसेबुङमा पवित्रहाङमा कप खेलकुद प्रतियोगिताको तयारी सुरु

माङसेबुङ । ११ औं पवित्रहाङमा कप खेलकुद प्रतियोगिता धार्मिक पर्यटकीयस्थल माङसेबुङस्थित आत्मानन्द खेलमैदानमा सञ्चालन हुने भएको छ ।

हाम्रो पहिचान, राष्ट्रको शान र धर्मको महलमा किरात धर्म लेखौं, राष्ट्रिय जनगण्ना २०७८ सफल पारौं भन्ने नाराका पवित्रहाङमा कप खेलकुद प्रतियोगिता आयोजना गरिएको बिहिवार आयोजित पत्रकार सम्मेलनमा आयोजक आत्मा पवित्र हक्चात यक्चुमका अध्यक्ष मनप्रसाद आङबुहाङले बताए ।

विगतका वर्षझै मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको ६५ औं शुभ जन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द ‘सेइङ’ नुमाङगेन्ना सेवा समारोहको अवसरमा आयोजित फूटबल प्रतियोगिता आगामी माघ २९ गते सुरु भई फागुन २ गते फाइनल हुने छ आयोजकले जनाएको छ ।

जन्मोत्सव समारोहका खेलकुद विभाग संयोजक तथा आत्मा पवित्र हक्चात यक्चुमको संयोजनमा हुने गोल्डकप प्रतियोगितामा इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, र दार्जिलिङ भारतका ८ टीमको सहभागीता रहने छ ।

प्रतियोगितामा ए. पि. एस. सी. दार्जिलिङ भारत, रोयल स्पोर्टस क्लब दमक झापा, माउण्ट एभरेस्ट स्पोर्टिङ क्लब चतरा सुनसरी, चुलाचुली गाउँपालिका खेलकुद समिति इलाम, पञ्चकन्या एफ.सी उदयपुर, सतिसाले एफ. सि. मोरङ, खदम स्पोर्टिङ क्लब मोरङ र धरान फुटबल क्लब सुनसरीको सहभागिता रहने आयोजक खेलकुद विभाग संयोजक आङबुहाङले जानकारी दिए ।


११ औं पवित्रहाङमा कप विजेताले नगद १ लाख १ सय ६५ रुपैयाँ र उपविजेता टिमले नगद ५० हजार १ सय ६५ रुपैयाँ सहित मेडल र प्रमाणपत्र पाउने छन् । त्यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट गोल रक्षक, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट कोचलाई समेत पुरस्कार प्रदान गरिने छ ।

मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको ६५ औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ नुमाङगेन्ना सेवा समारोहको अवसरमा फागुन ३ गते प्रतियोगितामा विजेताहरुलाई पुरस्कार वितरण गरिने हक्चात यक्चुमका अध्यक्ष आङबुहाङको भनाई छ ।

आगामी फागुन २ गते फाइनल हुने प्रतियोगितामा फूटबलका साथै अन्य विभिन्न अतिरिक्त खेलहरु पनि सञ्चालन हुनेछन् । अन्य खेलहरुमा म्याराथुन, छेलो (पक्लुङ), म्युजिकल चियर, हाँडी फुटाउने, लठ्ठा तान्ने, फूलमाला दौड, गाग्री भर्ने दौड, चम्चा दौड (१५ वर्ष मुनि), कराँते लगायतका खेलहरु सञ्चालन हुने विज्ञप्तीमा जनाइएको छ ।

माङसेबुङ गाउँपालिकाको आर्थिक सहयोग र फूटबल संघ इलामको प्राविधिक सहयोगमा सञ्चालन हुने प्रतियोगितामा खेलकुदमा सहभागी भई विजेता हुने खेलाडीहरुले पनि आकर्षक पुरस्कार दिइने आयोजकको भनाई छ । इलामको माङसेबुङमा पवित्रहाङमा गोल्डकप २०६७ यता हरेक वर्ष मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको शुभ जन्मोत्सवको अवसरमा सञ्चालन हुँदै आएको छ ।

मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको जन्म इलामको माङसेबुङ गाउँपालिका वडा नं. ३ (साविक बाँझो ७ उत्तरे) मा साँबा दम्पति तत्कालीन सुब्बा बिर्खध्वोज र कौशिला साम्सुहाङको कोखबाट वि.स. २०१३ साल फागुन ३ गते भएको थियो । वि. स. २०३२ साल माघ २२ गते बिहिबारको दिन साबिक इलामको इभाङ ५ हाल माङसेबुङ गाउँपालिका–२, चुक्चिनाम्बा गैरीगाउँ माङहिममा मुहिङगुम अङसीमामाङले पुण्यप्रसाद लिङ्देन र चन्द्रमाया चेम्जोङ (श्यामजिरी) को कोखबाट जन्मनु भएका मुहिङगुम अङसीमाङ लिङदेन फाल्गुनन्दका पुनः अवतार मुहिङगुम अङसीमाङ अर्थात तत्कालीन बालागुरु आत्मानन्द लिङ्देन सेईङस“ग देव विवाह गर्नु भयो ।

मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेईङको जीवन सारथीको रुपमा विराजमान रहनु भएको छ । किरात धर्म, भाषा, लिपि, संस्कार, संस्कृतिको प्रचार–प्रसार गर्दै, कुरीति र कुसंस्कारमा रहेका समुदायलाई सभ्य, शिक्षित र चेतनशील बनाउने अभियानमा अङसीमाङको सदैव जीवन सारथीको रुपमा अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन उभिनु भएको छ ।

 

सम्बन्धित खवर