राष्ट्रिय जनगणनामा किरात धर्म लेखौं अभियान विषयक अन्तरक्रिया सम्पन्न - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

राष्ट्रिय जनगणनामा किरात धर्म लेखौं अभियान विषयक अन्तरक्रिया सम्पन्न

दमक । आसन्न राष्ट्रिय जनगणना २०७८ मा किरात धर्म लेखौ अभियान कार्यक्रम अन्तर्गत धिमाल जातीय विकास केन्द्रका प्रतिनिधिहरुसँग किरात धर्म लेखौं राष्ट्रिय अभियान महासमितिले छलफल तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको छ ।

धर्मको महलमा किरात धर्म लेखौं अभियानलाई सशक्त र प्रभावकारी रुपमा सञ्चालन गर्न गठित किरात धर्म लेखौं राष्ट्रिय अभियान महासमितिले विभिन्न किरातजन्य संघ संगठनहरुसँग समन्वयन र कार्यगत एकता गर्ने शिलशिलामा धिमाल जातिसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो ।

बिहिबार किरात धर्म साहित्य उत्थान संघको संयोजनमा आयोजित अन्तरक्रिया कार्यक्रम दमक नगरपालिका १, मा अवस्थित संघको कार्यालयमा सम्पन्न गरिएको थियो ।

सो अन्तरक्रिया कार्यक्रममा धिमाल जातीय विकास केन्द्रका केन्द्रीय अध्यक्ष लोकबहादुर धिमाल, केन्द्रका सह अध्यक्ष कृष्णबहादुर धिमाल, उपाध्यक्ष केदार धिमाल, शान्ति धिमाल, केन्द्रीय सदस्य मोहनकुमार धिमाल र धिमाल जातीय विकास केन्द्रका संस्थापक सचिव मोहन धिमाल लगायत उपस्थित हुनु भएको थियो ।

छलफल तथा अन्तरक्रिया कार्यक्रममा किरात धर्म लेखौं राष्ट्रिय अभियान महासमिति सह अध्यक्ष तथा किरात धर्म तथा साहित्य उत्थान संघका केन्द्रीय अध्यक्ष डकेन्द्रसिंह थेगिमले कार्यक्रमको औचित्य र जनगणनाको सवालमा किरात धर्म लेखौं अभियानको अवधारणा राख्नु भएको थियो भने, धिमाल जातीय विकास केन्द्रका केन्द्रीय अध्यक्ष लोकबहादुर धिमाल, सह अध्यक्ष कृष्णबहादुर धिमाल, उपाध्यक्ष केदार धिमाल, संस्थापक सचिव मोहन धिमाल लगायतले आफ्नो धारणा राख्नु भएको थियो ।

किरात धर्म तथा साहित्य उत्थान संघका केन्द्रीय उपाध्यक्ष मेहेरमान लाबुङ र किरात धर्म तथा साहित्य उत्थान संघ जिल्ला समिति झापाका अध्यक्ष शिवकुमार योङयाले समेत आफ्ना भनाई राख्नु भएको थियो ।

राष्ट्रिय जनगणना २०७८ मा किरात धर्म सम्बन्धि देश व्यापी जनजागरण अभियान सञ्चालन गर्ने, गराउने शिलशिलामा धिमाल जातीय संस्थासँग पहिलो चरणको छलफल तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको किरात धर्म लेखौं राष्ट्रिय अभियान महासमिति सह अध्यक्ष डकेन्द्रसिंह थेगिमले बताए ।

सह अध्यक्ष थेगिमका अनुसार जनगणना र किरात धर्मको विषयमा आगामी समयमा बृहत छलफल तथा अन्तरक्रिया गरी निचोडमा पुग्ने भनि पहिलो चरणको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

अन्तरक्रिया कार्यक्रम किरात धर्म लेखौं राष्ट्रिय अभियान महासमिति सह अध्यक्ष तथा किरात धर्म तथा साहित्य उत्थान संघका केन्द्रीय अध्यक्ष डकेन्द्रसिंह थेगिमको अध्यक्षतामा भएको थियो । किरात धर्म तथा साहित्य उत्थान संघ केन्द्रीय समितिका मुख्य सचिव संकल्प लिङ्देनले सञ्चालन गरेका थिए भने स्वागत मन्तव्य किरात धर्म लेखौं राष्ट्रिय अभियान महासमितिका सचिव ज्ञानु केदेमले राखेका थिए ।

सम्बन्धित खवर