पवित्रहाङमा कप : धरान र चतरा अन्तिम चारमा - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पवित्रहाङमा कप : धरान र चतरा अन्तिम चारमा

माङसेबुङ । माङसेबुङमा जारी पवित्रहाङमा कप ११ औं संस्करण खेलकुद प्रतियोगितामा धरान फुटबल क्लब सुनसरी र माउण्ड एभ्रेष्ट स्पोर्टिङ क्लब चतरा सुनसरी अन्तिम चारमा प्रबेश गरेको छ ।

इलामको माङसेबुङ गाउँपालिकास्थित आत्मानन्द खेलमैदानमा शुक्रबार सम्पन्न खेलमा खदम स्पोर्टिङ क्लब मोरङलाई ट्राइब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै धरान अन्तिम चारमा प्रबेश गरेको हो ।

निर्धारित समयमा १–१ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको हो । खेलमा अग्रता भने धरानकी समिक्षा मगरले तेस्रो मिनेटमा गोल गर्दै धरानलाई अग्रता दिलाएकी थिइन् ।

तर, पहिलो हाफको इन्जुरी समयमा ममता राउतले गोल गर्दै खेल बराबरीमा ल्याएकी थिइन् । दोस्रो हाफमा दुबै टोलीले थप गोल गर्न सकेनन् ।

ट्राइब्रेकरमा अनिता लम्जेलको प्रहार गोल पोष्टमा लागेर बाहिरिएपछि खदम क्वाटरफाइनलबाटै बाहिरिएको हो । खेलको प्लेयर अफ दि म्याच धरानकी समिक्षा घोषित भइन् ।

यसरीनै प्रतियोगिता अन्तर्गत दोस्रो खेलमा सतिसाले एफ. सी. मोरङलाई २–१ ले हराउदै माउन्ट एभरेष्ट स्पोर्टिङ क्लब चतरा अन्तिम चारमा प्रबेश गरेको छ ।
खेलको ५ औं मिनेटमा सतिसालेकी कोपिला लिम्बूले पहिलो गोल गर्दै सतिसालेलाई अग्रता दिलाएपनि माउण्ट एभ्रेष्ट स्पोर्टिङ क्लब चतरा सुनसरीका लागि खेलको १६ औं मिनेटमा पवित्रा राईले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

मध्यान्तर पश्चात बैकलपिक खेलाडीको रुपमा मैदान प्रबेश गरेकी चतराकि रचना राईले खेलको ६४ औं मिनेटमा गोल गर्दै टिमलाई जित दिलाइन । खेलको प्लेयर अफ दि म्याच चतराकी पवित्रा घोषित भइन् ।

मुहिगुम अङसीमामाङ साँवा पवित्रहाङमा लिङदेन ६५ औं जन्मोत्सव तथा मुहिगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ नुमाङगेन्ना सेवा समारोहको अवसरमा आयोजित प्रतियोगिता विहिबारदेखि सुरु भएको हो ।

प्रतियोगिता अन्तरगत शनिबार दुई सेमी फाइनल खेल हुनेछ । पहिलो खेल धरान फुटबल क्लब सुनसरी र रोयल स्र्पोटिङ क्लब दमकबीच प्रतिष्पर्धा हुनेछ भने दोश्रो खेल माउण्ट एभरेष्ट स्पोर्टिङ क्लब चतरा सुनसरी र ए.पि.एस.सी माङसेबुङबीच हुने आयोजक समितिका अध्यक्ष मनकुमार आङबुहाङले जानकारी दिए ।

फूटबलको विजेताले नगद १ लाख एक सय ६५ रुपैयाँ र उपविजेता टिमले नगद ५० हजार एक सय ६५ रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन् । त्यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट गोलकिपरले जनही तीन हजार एक सय ६५ रुपैयाँ प्राप्त गर्नेछन् ।

आत्मा पवित्र हक्चात यक्चुम माङसेबुङ इलामको आयोजनामा सुरु भएको प्रतियोगितामा इलाम, झापा, मोरङ, सुनसरी र उदयपुर गरी ८ महिला टीमले सहभागीता जनाएका छन् । प्रतियोगितको फाइनल आगामी २ फागुनमा हुनेछ ।

सम्बन्धित खवर