किरातहरुले संसारमा राज्य गरेका हुन : आत्मानन्द सेइङ(भिडियो सहित) - Mangsebung News
  • शुक्रबार, बैशाख ०३, २०७८
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

किरातहरुले संसारमा राज्य गरेका हुन : आत्मानन्द सेइङ(भिडियो सहित)

  • ज्ञानु केदेम लिम्बू

माङसेबुङ / धर्मले सत्य र शान्तिको पक्षमा सदा वकालत गर्ने किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङले बताउनु भएको छ ।

वहाँले सो कुरा धार्मिक पर्यटकीयस्थल इलामको माङसेबुङमा सोमबार सम्पन्न मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन ६५ औं शुभ जन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ नुमाङगेन्ना सेवा समारोह समुद्घाटन कार्यक्रममा आशीर्वचन दिनुहुँदै बताउनु भएको हो ।

बसोबासको आधारमा मुलुक विविध जातजातिहरुको फूलबारी भएझै राज्य पनि समावेशी हुनुपर्ने अङसीमाङको भनाई छ । आशीर्वचनमा वहाँले भन्नु भयो, ‘आदिवासी जनजाति समुदायले पनि राज्यको कार्यकारी शासन सत्ता चलाएको हेर्ने इच्छा लागेको छ ।’ अङसीमाङले थप्नु भयो, ‘पहिले संसारमा किरातहरुले राज्य गरेका थिए ।’

आशीर्वचन दिनु हुँदै अङसीमाङले समाज खानेकुराले विग्रेको बताउनु भएको छ । किरात धर्म विश्व शान्ति र मानव एकताको पक्षमा रहेको प्रष्ट पार्नु हुँदै, वहाँले शान्ति भए देश बच्ने, सम्पति बच्ने, देव नीति, राजनीति सबै बच्ने अनि सबै अमनचयनसँग बाँच्न सकिने बताउनु भएको छ ।

धार्मिक पर्यटकीयस्थल माङसेबुङको विकासमा राज्यले विशेष ध्यान दिनु आवश्यक रहेको बताउनु हुँदै, अङसीमाङले भविष्यमा माङसेबुङको नामबाट धेरै नेपालीहरु बाँच्ने आधार बन्ने बताउनु भएको छ ।

हरेक वर्ष फागुन २, ३ र ४ मा वृहत रुपमा मनाइदैं आएको नुमाङगेन्ना सेवाको समुद्घाटन समारोहमा प्रमुख अतिथि प्रदेश नं. १ का प्रदेश सांसद आशारत्न जवेगु, विशेष अतिथि अर्जुनधारा नगरपालिका जेष्ठ नागरिक मिलन समाजका अध्यक्ष राम प्रसाद भटराई लगायतले समारोहलाई सम्बोधन गर्नु भएको थियो ।

मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन ६५ औं शुभ जन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ नुमाङगेन्ना सेवा समारोहको अवसरमा किरात धर्ममा अतुलनीय योगदान दिनु हुने महागुरु पाल्गुनन्दका जिवित चेला ९४ वर्षिय बलिराज इङनामलाई सम्मान पत्रद्धारा सम्मान र आइबहादुर चाम्लिङ राईलाई कदर पत्रद्धारा सम्मान गरिएको समारोह आयोजक समितिका महासचिव काकीराम लाओतीले जनाएको छ ।

नुमाङगेन्ना सेवा समारोहको अवसरमा विगतका वर्ष झै शनिबार साक्मुरा वादेम्मा गरिएको र आइतबार किरात हाङसाम मुजोत्लुङ माङहिममा येत नाम्धुङ लाधुङ सेमी सेवा सञ्चालन गरिएको आयोजकले जनाएको छ ।

यसरी समारोहमा सांस्कृतिक विभाग किरात साम्यो साक्थिम्गेन पान्जुम्भोका केन्द्रीय कलाकारहरुबाट स्वागत नृत्य, किरात साम्यो माङसिवाखाहुन पान्जुम्भोबाट युमा लाङ, थेबा लाङ प्रस्तुत गरिएको थियो । भने किरात स्वर सम्राट अर्थवीर लाओती ‘सिमले कान्छा’, रामप्रसाद लाओती लगायतले माङसिवाखाहुन समेत प्रस्तुत गरेका थिए ।

समारोहमा प्रमुख अतिथि प्रदेश सांसद जबेगु र विशेष अतिथि भटराई लगायतका अतिथिले शुभकामना मन्तव्य राखेका थिए ।

समारोहको कार्यक्रम अन्तर्गत सोमबार समुद्घाटन पश्चात साँझ सांस्कृतिक कार्यक्रम सञ्चालन हुने सांस्कृतिक विभागले जनाएको छ । समारोहको समापन कार्यक्रम पनि मंगलबार नै हुने मूल समारोह समितिले जनाएको छ ।

समारोह अध्यक्ष केहेरसिं योङहाङका अनुसार मंगलबार (भोलि) मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनहरुको मुखारविन्दुबाट विशेष अमृतमय माङ आशीर्वचन प्रदान हुने कार्यक्रम छ ।

त्यसैगरी वहाँहरुको हस्तबाहुलीमा माङ मिक्तोक (उपहार) तथा अभिनन्दन चढाइने, समारोह सम्पन्न गर्न सहयोग गर्ने महानुभावहरुलाई धन्यवाद पत्रद्धारा सम्मान गरिने र माङगेन्ना चामल वितरण हुने कार्यक्रम रहेको छ ।

शुभ जन्मोत्सव समारोहका अध्यक्ष तथा किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङको अध्यक्षतामा सम्पन्न समारोहमा स्वागत मन्तव्य समारोहका सह अध्यक्ष तथा किरात धर्म तथा उत्थान संघका अध्यक्ष डकेन्द्रसिंह थेगिमले राखेका थिए भने महासचिव काकीराम लाओतीले सञ्चालन गरेका थिए ।

 

सम्बन्धित खवर