माङसेबुङ माङको ज्योति परेको ठाउँ हो : सेइङ - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

माङसेबुङ माङको ज्योति परेको ठाउँ हो : सेइङ

  • ज्ञानु केदेम लिम्बू

माङसेबुङ /  किरात धर्मको पालनपोषण र संरक्षण सम्वद्र्धन गर्ने जिम्मेवारी युवापुस्ताको काँधमा आईपुगेको किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङले बताउनु भएको छ ।

वहाँले सो कुरा धार्मिक पर्यटकीयस्थल इलामको माङसेबुङमा मंगलबार सम्पन्न मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन ६५ औं शुभ जन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ नुमाङगेन्ना सेवा समारोहको विशेष आशीर्वचन कार्यक्रममा आशीर्वचन दिनुहुँदै बताउनु भएको हो ।

भक्तजनहरुले किरात धर्मले दिने आशीर्वादको अनुभव गरिसकेकोले यसलाई संरक्षण र प्रचारप्रसार गर्ने जिम्मेवारी किरात धर्मावलम्बीहरुको भएको अङसीमाङको भनाई छ । आशीर्वचनमा अङसीमाङले भन्नु भयो, ‘ध्यान, योग, तपस्या गरेर माङसँग मागेको कुरा प्राप्त हुन्छ तर यसलाई जोगाएर लानुपर्छ यो जिम्मेवारी भक्तजनहरुको हो ।’

राष्ट्रिय जनगणनाको विषयमा आशीर्वचन दिनु हुँदै अङसीमाङले किरात धर्म लेखौं अभियानलाई सशक्त ढंगले सञ्चालन गर्नुपर्ने बताउनु भएको छ । किरात धर्म लेखे मात्र यो मुलुकको भूमिपुत्र ठहर्ने दिन निकट भविष्यमा आउने वहाँले संकेत समेत गर्नुभएको छ । अङसीमाङले थप्नु भयो, ‘किरातहरु यो भूमिको आदिम भूमिपुत्रहरु हुन् ।’

धार्मिक पर्यटकीयस्थल माङसेबुङ माङको ज्योति परेको ठाउँ भएको अङसीमाङले प्रष्ट पार्नु भएको छ । यसलाई विकास र प्रचारप्रसार गरी विश्वमा नमुनास्थल बनेपछि करोडौं भक्तजन भेला हुने अङसीमाङले बताउनु भएको छ ।

हरेक वर्ष फागुन २, ३ र ४ मा वृहत रुपमा मनाइदैं आएको नुमाङगेन्ना सेवा समारोहको अवसरमा विगतका वर्ष झै यस वर्ष पनि शनिबार साक्मुरा वादेम्मा, आइतबार किरात हाङसाम मुजोत्लुङ माङहिममा येत नाम्धुङ लाधुङ सेमी सेवा सञ्चालन गरिएको थियो भने, सोमबार समारोह समुद्घाटन कार्यक्रम आयोजना गरिएको थियो ।

यसरी समारोहमा सांस्कृतिक विभाग किरात साम्यो साक्थिम्गेन पान्जुम्भोका केन्द्रीय कलाकारहरुबाट स्वागत नृत्य, किरात साम्यो माङसिवाखाहुन पान्जुम्भोबाट युमा लाङ, थेबा लाङ प्रस्तुत गरिएको थियो । भने गुरु सुपुत्री गायिकाद्धय ममिला लिङ्देन, थोक्फेला लिङ्देनको विशेष प्रस्तुति पनि रहेको थियो ।

यसरीनै किरात स्वर सम्राट अर्थवीर लाओती ‘सिमले कान्छा’, रामप्रसाद लाओती लगायतले माङसिवाखाहुन समेत प्रस्तुत गरेका थिए ।

समारोहको कार्यक्रम अन्तर्गत मंगलबार मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनहरुको मुखारविन्दुबाट विशेष अमृतमय माङ आशीर्वचन प्रदान हुने कार्यक्रम रहेको थियो ।

अङसीमाङ तथा अङसीमामाङहरुको हस्तबाहुलीमा माङ मिक्तोक (उपहार) तथा अभिनन्दन चढाउने र समारोह सम्पन्न गर्न सहयोग गर्ने महानुभावहरुलाई धन्यवाद पत्र वितरण गर्नका साथै माङगेन्ना चामल वितरण गरिएको थियो ।

त्यसैगरी किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोको प्रकाशनमा रहेका सो पान्जुम्भो पूर्व सदस्य स्वः रामभक्त ताम्लीङको स्मृति पुस्तकलाई अङसीमाङ तथा अङसीमामाङहरुको हस्तबाहुलीबाट विमोचन समेत गरिएको थियो ।

शुभ जन्मोत्सव समारोहका अध्यक्ष तथा किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङको अध्यक्षतामा सम्पन्न सम्पन्न भएको थियो ।

सम्बन्धित खवर