ताप्लेजुङ। ताप्लेजुङको दोभान बजारमा आगलागी हुँदा ७९ घरपरिवार विस्थापित भएका छन् ।
मंगलबार बिहान ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ र आठराई त्रिवेणी गाउँपालिकाको सङ्गमस्थल दोभान बजारमा भएको आगलागीबाट ७९ परिवार विस्थापित भएका हुन् ।
हालसम्म आगलागीबाट ४७ वटा घर पुर्णरुपमा जलेर नष्ट भईसकेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख बालरनसिंह राणाले बताए ।
उनका अनुसासार करिब ८० वटा पसल जलेको र फुङलिङ नगरपालिकाको दमकल, सुरक्षाकर्मी र स्थानीयवासीले आगो नियन्त्रण गर्ने कार्य भइरहेको बताए ।
लक्ष्मी बैंक शाखा कार्यालय, ग्लोबल आइएमई बैंकको शाखा कार्यालय र आइएमईको एउटा शाखा कार्यालय जलेर पूरै नष्ट भएको स्थानीयवासी गणेश कार्कीले जानकारी दिए ।
जिल्लाको दोस्रो ठूलो बजार दोभान हो । यस बजारमा १ सय व्यापारिक घर भएको उनले बताए । ४७ घरमा रहेका किराना पसलदेखि खाद्य स्टोर, हाडवेयरलगायत सबै पसल जलेर नष्ट भएको प्रहरी प्रमुख राणाको भनाइ छ ।
यसैगरि आगलागी नियन्त्रणको लागि स्काभेटरको माध्यमबाट केही घरहरु भत्काउने क्रम जारी रहेको छ ।