नयाँ बुलन्द डट कम पाचौं वर्षमा प्रवेश, पत्रकार बोहोरा सम्मानित - Mangsebung News
  • शनिबार, जेठ ०५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नयाँ बुलन्द डट कम पाचौं वर्षमा प्रवेश, पत्रकार बोहोरा सम्मानित

इलाम । बुलन्द मल्टिटेक्निकल मिडिया प्राइभेट लिमिटेट इलामद्वारा संचालित पूर्वको लोकप्रिय अनलाइन पत्रिका नयाँ बुलन्द डटकमको पाँचौं वार्षिक उत्सवको अवसरमा पत्रकार युद्धबहादुर बोहोरा सम्मानित भएका छन् ।

आइतबार इलाममा सम्पन्न नयाँ बुलन्द डटकमको पाँचौं वार्षिक उत्सवको अवसरमा नयाँ बुलन्दका घुर्बिस पञ्चमी (इलाम र पाँचथरको सिमाना) समाचारदाता बोहोरालाई प्रमुख अतिथि जिल्ला समन्वय समिति इलामका प्रमुख गणेशप्रसाद बरालले दोसल्ला र सम्मानपत्र प्रदान गर्दै सम्मान गरेका हुन् ।

उनी नेपाल पत्रकार महासंघ पाँचथरका नवनिर्वाचित कार्यसमिति समेत हुन् । बोहोराले ग्रामीण क्षेत्रमा रहेर समेत पत्रकारिताका माध्यमबाट समुदायमा पुर्याएको योगदानको कदर गर्दै उनलाई सम्मान गरिको बुलन्द मल्टिटेक्निकल मिडिया प्राइभेट लिमिटेडका संचालक एवम् नयाँ बुलन्द डटकमका सम्पादक राम योङहाङले बताए ।

उनले बर्सेनि एक जनालाई सम्मान गरिने बताए । ‘ग्रामीण क्षेत्रबाट नागरिकलाई सूचनाको हक प्रत्याभूति गराउन पुर्याउनुभएको महत्वपूर्ण योगदानको कदर गर्दै सम्मान गरिएको हो’ सम्पादक योङहाङले भने, ‘वार्षिक रुपमा एक जना क्रियाशील पत्रकारलाई सम्मान गर्नेछौं ।’

बोहोरा विगत एक दशकदेखि इलाम र पाँचथरको सीमा क्षेत्रमा रहेर व्यावसायिक पत्रकारिता गरिरहेका छन् । उनी नयाँ बुलन्दसँगै झापाबाट प्रकाशित पूर्वाञ्चल राष्ट्रिय दैनिक, पाँचथरबाट संचालित रेडियो रवि, पब्लिक टाइम्सलगायत संचारमाध्यममा आवद्ध छ । उनी प्रेस मञ्च नेपालका प्रदेश १ सदस्य समेत हुन् ।

वार्षिक उत्सवको अवसरमा शुभकामना आदानप्रदानसँगै नयाँ बुलन्द डटकमले प्रकाशन गरेको सन्देशमूलक वार्षिक भित्तेपात्रो (क्यालेण्डर) २०७८ सार्वजनिक गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख बरालसहित, प्रमुख जिल्ला अधिकारी ध्रुबबहादुर खड्का, प्रहरी उपरिक्षक नविनराज राई, शसस्त्र प्रहरी उपरिक्षक सुधीरजंग थापालगायतले संयुक्त रुपमा सार्वजनिक गरे ।

कार्यक्रमका वक्ताहरुले पछिल्लो समय सञ्चारमाध्यमहरू धेरै भएपनि विश्वासनीय समाचार कम हुँदै गएको भन्दै चिन्ता व्यक्ता गरे । विशेषगरी अनलाइन पोर्टलहरूले विभिन्न घटनामा ‘वहकिना’ ले समग्र पत्रकारिताको नै विश्वासनियता गिरेको बताए । जिल्ला समन्वय समिति इलामका प्रमुख गणेशप्रसाद बरालले अब मिडियाले आर्थिक र विकास पत्रकारितामा कलम चलाउनु पर्ने सुझाव दिए । प्रमुख जिल्ला अधिकारी ध्रुबबहादुर खड्काले पत्रकारितामा मात्र नभई अन्य क्षेत्रमा पनि विश्वसनियताको खडेरी परेको बताए ।

नेपाल पत्रकार महासंघ इलामका अध्यक्ष विप्लव भट्टराईले पत्रकारिताभित्र रहेका कमीकमजोरीलाई सुधारेर लैजाने प्रतिवद्धता व्यक्त गरे । नेपाल पत्रकार महासंघ इलामका पूर्वसभापति सोमनाथ सुसेलीले सरकारको चौथो अङ्गका रूपमा मानिएको पत्रकारिता जगतको विश्वसनियता कम भएको गुनासो गरे ।

नेपाल बाल सङ्गठन इलामका अध्यक्ष नवराज शङ्करले पछिल्लो समय जिल्लाको पत्रकारिता उद्घाटन, भाषण र शिलान्यासमा मात्र अड्किएको बताए । उनले भएका काम बाहिर ल्याउनु सहि भएपछि अनुसन्धानात्मक समाचार कम भएको तर्क गरे ।

नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) का केन्द्रीय सदस्य ख्याम भुजेलले सनसनीपूर्ण समाचारले पत्रकारिताको जग बिगारेको बताए । उनले पछिल्लो समय यस्ता समाचारको उल्लेखीय उत्पादन भएकाले पाठकले पनि विश्वसनीय स्रोतको समाचार मात्र प्रयोग गर्न आग्रह गरे । कार्यक्रममा गैर सरकारी संस्था महासंघ इलामका अध्यक्ष कमल नेपाल, स्तम्भकार गोपाल पौड्याल, सम्मानित पत्रकार युद्धबहादुर बोहोरालगायतले बोलेका थिए । नयाँ बुलन्द डटकमका सम्पादक राम योङहाङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन उपसम्पादक अतित योङहाङले गरेका थिए ।

२०७४ वैशाखदेखि संचालित नयाँ बुलन्द डटकमले युट्युब च्यानल नयाँ बुलन्द अनलाईन टिभी समेत संचालनमा ल्याएको छ ।

सम्बन्धित खवर