पान्थरको चोकमागुमा महागुरूको स्मरणमा निर्मित स्तम्भको अनावरण - Mangsebung News
  • बुधबार, बैशाख २६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पान्थरको चोकमागुमा महागुरूको स्मरणमा निर्मित स्तम्भको अनावरण

फेदेन । किरात धर्म दर्शनदाता राष्ट्रिय बिभूति मुहिङगुम अङसीमाङ लिङदेन महागुरु फाल्गुनन्दले स्पर्श गुर्नु भएको स्थलमा महागुरूको स्मरणमा निर्माण गरिएको २५ फिट अग्लो ऐतिहासिक स्तम्भको अनावरण कार्यक्रम सम्पन्न भएको छ ।

पान्थरको फिदिम नगरपालिका ५, चोक्मागु, चुक्पाङभेमा अवस्थित माङदेबुङमा महागुरुले पाईला टेक्नु भएको, जपतप ध्यानमा बस्नुभएको एक सय वर्ष(सताप्दी) पुगेको अवसरमा सोहि ठाउँमा निर्माण गरिएको उक्त स्तम्भको अनावरण शनिबार प्रदेश न १ सांसद आशा रत्न जवेगुले गरेकि थिइन् ।

स्तम्भ अनावरण कार्यक्रमका प्रमुख आतिथि प्रदेश न १ सांसद आशा रत्न जवेगुले महागुरुले स्पर्श गर्नुभएको यश ऐतिहासिक स्थलको बिकासमा सहयोग पुर्याउन पहलकदम गर्ने बताईन ।

सांसद जवेगुले महागुरुको स्मरणमा निर्माण गरिएको स्तम्भको संरक्षण सम्वर्दन गर्न र यश क्षेत्रलाई धार्मिक पर्यटकिय स्थलको रुपमा बिकास गर्दै लैजान आवश्यक भौतिक पुर्वाधारको लागि समेत सहयोगको लागि पहलकदम गर्ने बताईन ।

कार्यक्रममा विशेष अतिथि फिदिम नगरपालिकाका मेयर ओनहाङ नेम्बाङ, नेकपा एमाले पान्थर अध्यक्ष राजकुमार भण्डारी, किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका केन्द्रीय महासचिव काकीराम लाओती “आन्छुमे नसान“, समाजसेवी धार्मिक व्यक्तित्व मन कुमार फेजङ, फिदिम २ का वडाध्यक्ष सुकपाल तुम्वापो, फिदिम ५ का वडाध्यक्ष लोकनाथ भण्डारी, समाजसेवी भरत तुम्बापो, समाजसेवी मणिकुमार तुम्बापो, समाजसेवी दामोदर ढुङ्गेल र तुम्बापो समाज नेपालका केन्द्रीय बरिस्ठ उपाध्यक्ष अग्नि प्रसाद तुम्वापो लगायतले शुभकामना मन्तव्य राखेका थिए ।


महागुर फाल्गुनन्द जीवनी बारेका खोजअन्वेशक तथा लेखक रमेश तुम्वापोले महागुरु फाल्गुनन्द र उहाँले स्पर्श गर्नु भएको ऐतिहासिक स्थलको बारेमा प्रकाश पारेका थिए । कार्यक्रममा फक्ताङलुङ आइडल तिर्सना नेम्बाङले पालाम प्रस्तुति दिएकी थिइन् ।

बिगत आधा दशक अघिदेखि किरात याक्थुङ तुम्बापो सयङले सेवा गर्दै आईरहेको उक्त स्थानलाई संरक्षण सम्वर्दन गर्दै धार्मिक पर्यटकिय स्थलको रुपमा बिकास गर्दै लैजाने उदेश्यले र महागुरुको स्मरणमा उक्त स्तम्भ निर्माण गरिएको किरात याक्थुङ तुम्बापो सयङका सचिव मनप्रसाद तुम्वापोले बताए ।

किरात याक्थुङ तुम्वापो सयङको आयोजनामा सयङका अध्यक्ष अमृत बहादुर तुम्बापो जनकको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सयङका सचिव मनकुमार तुम्वापोले गरेका थिए ।

 

 

सम्बन्धित खवर