एक साताका लगि झापामा निषेधाज्ञा लम्बियो - Mangsebung News
  • आइतबार, बैशाख २३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

एक साताका लगि झापामा निषेधाज्ञा लम्बियो

दमक । झापामा कोरोना संक्रमण नियन्त्रणमा आइ नसकेको हुँदा पुनः एक साता निषेधाज्ञा लम्बिएको छ ।

आज(बिहिबार) बसेको डिसिसिएमसीको बैठकले जेठ १५ गते राती १२ बजे देखि २१ गते राती १२ बजेसम्मको लागि जिल्ला प्रशासन कार्यालय झापाले पूर्ण निषेधाज्ञा लम्बाएको हो ।

जिल्ला प्रशासन कार्यालय झापामा आज बसेको जिल्ला स्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को बैठकको निर्णय अनुसार जिल्ला अधिकारी श्रवणकुमार तिमल्सीनाले आदेश जारी गरेका छन् ।

कोरोना संक्रमितको शव नेपाली सेनाले मात्र व्यवस्थापन गर्दै आएकोमा अब नेपाल स्काउट १ नम्बर प्रदेशको ३ वटा टोलीले झापाका सबै पालिकामा व्यवस्थापन गर्ने समेत निर्णय भएको रेडक्रस झापाका सभापति लोकराज ढकालले बताए ।

शव व्यवस्थापनको लागि बन्दोवस्तीका सामान भने सम्बन्धी पालिकालाई व्यवस्थापन गर्न अनुरोध गर्ने निर्णय भएको उनले जनाए ।

यो पटकको निषेधाज्ञा अटेर गर्नेलाई सरकारले हालै ल्याएको नयाँ अध्यादेशअनुसारको कारवाही समेत गर्ने प्रमुख जिल्ला अधिकारी तिमल्सिनाले बताए । जस अनुसार अध्यादेशले ल्याएको कारवाही अनुसार निषेधाज्ञा पालना नगर्नेलाई एक बर्ष कैद र ५ लाख जरीवाना हुन सक्नेछ । मापदण्ड पालना नगरेमा ६ महिना कैद वा ३ लाख रुपैयाँ वा दुवै सजाय हुने उल्लेख छ ।

यस्तै कुनै व्यक्तिले आदेश उल्लंघन गरेको पाइए १ लाख जरिवाना हुने र संस्थाले आदेश पालना नगरे ५ लाख रुपैयाँ जरीवाना हुनेछ । अत्यावश्यकबाहेकका काममा दुईपाङग्रे सावारी साधन चलाए २ हजार र ४ पाङ्ग्रे चलाए ५ हजार जरिवाना गराईने छ । साथै माक्स नलगाई सार्वजनिक स्थलमा आवतजात गरेमो पटकै पिच्छे १ सय रुपैयाँ र बिना काम बाहिर हिडडुल गरेमा पटकै पिच्छे २ सय रुपैयाँ जरिवाना गराउने अध्यादेश सरकारले जारी गरेको छ । यसको अतिरिक्त अध्यादेशको उल्लंघन गर्ने व्यक्ति वा संस्थालाई अतिरिक्त समय प्रमुख अधिकारीले ६ महिनासम्म जेलसजाय गर्न सक्ने अधिकार दिईएको अध्यादेशमा उल्लेख छ ।

सम्बन्धित खवर