प्रहरीद्वारा पत्रकार र बन कर्मचारी परिचयपत्र देखाएर ठगी गर्ने दूई जना पक्राउ - Mangsebung News
  • बुधबार, जेठ ०२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

प्रहरीद्वारा पत्रकार र बन कर्मचारी परिचयपत्र देखाएर ठगी गर्ने दूई जना पक्राउ


दमक । पत्रकार परिचयपत्र र वनको कर्मचारी हौ भन्दै काठ मिलमा पैसा उठाएर ठगी गर्ने दूई जनालाई मोरङ रतुवामाई नगरपालिका १० बाट प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले इटहरी उपमहानगरपालिका ६ जुटबिकासका ५० बर्षीय दधिराम चौहान र मोरङ सुन्दरहरैचा नगरपालिका ७ का ५६ बर्षीय पुष्प प्रसाद सिग्देललाई पक्राउ गरेको हो ।

गत असार ४ गते बेलुका ६ बजे रतुवामाई १० का पूर्ण बहादुर श्रेष्ठको माईवेनी स–मिलबाट रकम उठाउन आएको बेला प्रहरीले बिशेष सुचनाको आधारमा उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुको साथबाट नगद ३२ हजार ९ सय ९५ रुपैयाँ, सृष्टि साप्ताहिक तथा सन्देश दैनिक समाचार पत्र लेखिएको रसिद प्याड थान–१, उठाएको रकम अभिलेख भएको डायरी थान–१, कान्तिपुर पोष्टको बजार ब्यवस्थापक परिचय पत्र थान–१, जनमत साप्ताहिकको सम्वाददाता परिचय पत्र, बराह साप्ताहिकको सम्वाददाता परिचय पत्र समेत बरामद भएको प्रहरीले जनाएको छ ।

उनीहरुसंग भेटिएको अभिलेख डायरीमा मोरङका बिभिन्न ठाउँमा बस्ने २५ जनाबाट जनही १ हजार देखी ११ हजार ५ सय सम्म उठाएको उल्लेख छ ।

उनीहरुले हामी बनको कर्मचारी र पत्रकार हौं कार्यालयमा तेलको आवश्यक छ सहयोग गर्नुहोस अन्यथा तपाईहरूलाई काम गर्न अप्ठेरो हुनेछ भन्ने डर त्रास देखाएर विभिन्न काठ मिलहरूमा रकम उठाएर ठगी गर्ने गरेको प्रारम्भिक अनुन्धानबाट खुलेको छ ।

पक्राउ परेकाद्वय चौहान र सिग्देल उपर ठगी कसूरमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर