झापामा थप एक हप्ता निषेधाज्ञा - Mangsebung News
  • बुधबार, जेठ ०२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

झापामा थप एक हप्ता निषेधाज्ञा


दमक । कोरोना संक्रमण वृद्धिदर उच्च रहेको निश्कर्ष निकाल्दै जिल्ला प्रशासन कार्यालय झापाले एकहप्ताका लागि निषेधाज्ञा जारि गर्ने निर्णय गरेको छ ।

झापा जिल्ला कोरोनाको हर्टस्पोट भएको भन्दै आगामी शनिबार १६ गते राति १२ बजेदेखि जिल्ला भरि एक साता निषेधाज्ञा जारि गर्ने निर्णय गरेको हो ।

बिहीबार जिल्ला प्रशासन कार्यालय झापामा बसेको डीसीसीएमसी र पालिका प्रमुखहरुको संयुक्त बैठकले जिल्लानै सिल गर्ने सहमति भएको छ ।

बैठकले कोरोनाको तेस्रो लहर समेत देखा पर्न सक्ने भन्दै स्थानीय पालिकाहरुलाई आइसोलेसन सेन्टर र होम आइसोलेसन सेन्टर तयारी अवस्थामा राख्न निर्देशन समेत दिएको छ ।

बैठकले मेची प्रदेशिक अस्पतालमा जडान भइरहेको अक्सिन प्लान्ट तत्काल सञ्चालन गर्ने तथा जिल्लाका ठूला नीजि अस्पतालहरुलाई समेत अक्सिजन प्लान्ट जडान गर्न आग्रह गर्ने निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाको अध्यक्षतामा बसेको बैठकले जिल्लामा खोप कार्यक्रमलाई प्रभावकारी बनाउनुका साथै स्वास्थ्य मन्त्रालयसंग थप खोप माग गर्ने निर्णय समेत गरेको छ । सरकारले तोकेको लक्ष्यभन्दा धेरै जनसंख्या भएकाले कोटा बढाउन समेत माग गरेको छ ।

आगामी १८ गतेबाट लक्षित उमेर समूह तोकेर जिल्लाभर खोप कार्यक्रम सञ्चालन गर्ने निर्णय समेत बैठकले गरेको छ ।

औषधि र अत्यावश्यक वस्तुको खरिद गर्न बाहेक घरबाट निस्कन, यातायात सञ्चालनसमेत बन्द रहने गरी निषेधाज्ञा जारी गरिएको छ ।

यसअघि कोरोना संक्रमण उच्च रहेको झापाका १० पालिकामा निषेधाज्ञा गरिएकोमा अब जिल्ला नै लकडाउन गरिएको हो । झापामा कोरोना संक्रमणका कारण बिहीबार एकैदिन सात जनाले ज्यान गुमाएका छन् ।

झापा जिल्लाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाद्वारा जारी आदेशः

सम्बन्धित खवर