संघीय मञ्चका बरिष्ठ सल्लाहकार लिम्बुको निधन - Mangsebung News
  • बुधबार, जेठ ०२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

संघीय मञ्चका बरिष्ठ सल्लाहकार लिम्बुको निधन


मेजर श्रवण कुमार सेलिङ् लिम्बु

दमक । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका बरिष्ठ सल्लाहकार मेजर श्रवण कुमार सेलिङ् लिम्बुको कोरोना संक्रमणबाट निधन भएको छ ।

लिम्बूलाई कोरोना संक्रमण भएपछि विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारको क्रममा ८३ बर्षको उमेरमा निधन भएको हो ।

ब्रिटिस गोरखा सेनामा गोरखा कमिसनर अफिसर तहमा पुगेर मेजर पदमा निवृत भएका लिम्बु लामो समयदेखि परिवारसहित धरानमा बस्दै आएका थिए । सेनाबाट अवकाश भएलगत्तै उनले जातीय मुक्तिको आन्दोलनमा लाग्ने विचार गर्दै राष्ट्रिय जनमुक्ति पार्टीबाट सक्रिय राजनीति सुरु गरेका थिए ।

धरानका समाजसेवीको रुपमा नाम कमाएका लिम्बु जनमुक्ति पार्टीको सहअध्यक्षसम्म भएका थिए । उनी धरानमा पुराना समाजसेवी एवम् राजनीतिकर्मीको रुपमा चिनिएका व्यक्ति हुन् ।

जातीय पहिचानको राजनीतिबाट नथाकेका लिम्बु लिम्बुवान सहितको पहिचानमा आधारित १०+१ प्रान्त बने मात्र नेपालको संघीयताले पूर्णता पाउने बताउँदै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चमा प्रवेश गरेका थिए ।

जनमुक्तिका उपाध्यक्ष तथा लिम्बुवान समितिका अध्यक्ष चन्द्र खापुङको नेतृत्वमा मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपालमा करिब पाँच दर्जनभन्दा बढी भूपु गोरखा सैनिकहरु प्रवेश गरेका थिए ।

लामो समयसँगै एउटै पार्टीमा सहकार्य गरेका मञ्चका उपाध्यक्ष चन्द्र खापुङका अनुसार लिम्बुको निधनले एक कुशल नेतृत्व एवम् अभिभावक गुमेको बताए । यो उमेरमा पनि राजनीतिक उर्जा दिई रहनु हुने लिम्बुको जातीय मुक्तिको आन्दोलनमा महत्वपूर्ण योगदान रहेको थियो खापुङ् थप्छन् – लिम्बु सरल, शाान्त र शालीन स्वभावका व्यक्तित्व थिए ।

मेजर लिम्बु धरानको डिपो माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष समेत थिए । उनी स्कूलको सार्वजनिक शैक्षिक गुठीका संस्थापक अध्यक्ष हुन् । ‘वन डे वन पे’ अवधारणा अन्र्तगत लाहुरे समुदायको विशेष सक्रियातामा विद्यालय स्थापना भएको थियो । उनी कियाचु धरान सुनसरीका सल्लाहकार समेत थिए ।

त्यसैगरी दर्जन बढी संघसंस्थामा आबद्ध मेजर पल्टनमा रहँदा उनी ब्रिगेड अफ गोर्खाजबाट प्रकाशित हुने पर्वते पत्रिकाका प्रधान सम्पादक समेत थिए ।

 

सम्बन्धित खवर