इलाममा निषेधाज्ञा कडाई, खाद्य पसलसमेत बन्द हुने - Mangsebung News
  • बिहिबार, जेठ ०३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

इलाममा निषेधाज्ञा कडाई, खाद्य पसलसमेत बन्द हुने

इलाम । खाद्यान्न पसलसमेत बन्द हुनेगरी इलाममा आउँदो २५ गतेसम्म निषेधाज्ञा आदेश जारी गरिएको छ ।

जिल्लामा कोराना संक्रमण र मृत्युदर बढेपछि प्रमुख जिल्ला अधिकारीले भोलि १९ गतेदेखि लागू हुनेगरी निषेधाज्ञामा कडाईको आदेश जारी गरेका छन् ।

सोमबार प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले आदेश जारी गर्दै अब निजी, सार्वजनिक यातायातका साधन, पसल, बजार सबै बन्द गर्ने जनाएका हुन् ।

उनले आउँदो २५ गतेसम्म औषधि पसलबाहेक सबै बन्द रहने भएकाले ७ दिनलाई पुग्ने खाद्यान्नसमेत सोमबार नै जोहो गर्नसमेत सबैलाई अनुरोध गरे ।

यसअघि तरकारी, फलफूल र खाद्य सामग्रीका पसललाई निश्चित समय तोकेर खुला गरिएको थियो । तर, सोमबार जारी आदेशमा तरकारी, फलफूल र दूध विक्री गर्ने पसललाई बिहान ५ देखि साढे ७ बजेसम्ममात्र खुला रहन दिने भनिएको छ । तर, खाद्यान्न पसलसमेत खुला नरहनेगरी आदेश जारी गरिएको छ ।

प्रशासनले जारी गरेको आदेशमा मेची राजमार्गबाहेक जिल्लाका सबै क्षेत्रमा यातायातका साधन चलाउन नपाइने, खोपकेन्द्र जाँदा स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्ने, सार्वजनिक निकाय, संस्थान तथा कार्यालयले प्रदान गर्ने अत्यावश्यकबाहेकका सबै सेवा बन्द गर्ने उल्लेख छ ।

निजी बैंक, वित्तीय संस्था र सेवासमेत हाललाई स्थगित गरिएको छ । परीक्षार्थीले परीक्षा दिन जाँदा सोझै परीक्षा केन्द्रसम्म र घरसम्म फर्किनेबाहेक अन्यत्र हिँडडुल गर्न बन्द गरिएको प्रशासनले जनाएको छ ।

 

सम्बन्धित खवर