संखुवासभामा लिम्बू भाषा शिक्षण शुरु - Mangsebung News
  • शनिबार, जेठ ०५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

संखुवासभामा लिम्बू भाषा शिक्षण शुरु

  • डिल्लीश्वर मुसाहाङ अम्याङ्सा

संखुवासभा । संखुवासभा जिल्लाका विद्यालय तहमा मातृभाषा शिक्षा दिने नीति अनुसार यस जिल्लामा पहिलो पटक लिम्बू भाषा शिक्षण प्रारम्भ हुने भएको छ ।

सभापोखरी गाउँपालिका वडा नं. ५ को अति दुर्गम स्थानमा रहेको श्री प्रकाश आधारभूत विद्यालय फाकुवामा, गाउँपालिकाको अनुदान स्रोत अन्तर्गतको प्राथमिक तहमा लिम्बू भाषा शिक्षक नियुक्ति गरेको हो ।

स्थानीय तहमा मातृभाषामा शिक्षा दिने गाउँपालिकाको कार्यनीति अनुसार लिम्बू भाषा शिक्षणका लागि शिक्षक नियुत्ति, गरिएको किरात याक्थुङ चुम्लुङ सभापोखरीका अध्यक्ष मदन सेरेङ मादेनले बताए ।

सो शिक्षक नियुक्तिको लागि श्री त्रिवेणी माध्यमिक विद्यालय बाह्रविसे स्रोतकेन्द्रमा परिक्षा संचालनमा धनकुटा साँगुरीगढी गाउँपालिका २, धनकुटाका प्रभात तुम्बापो लिम्बू उतिर्ण भई नियुक्ति भएको विद्यालय प्रधानाध्यापक वीरेन्द्र महतो र विद्यालय व्यावस्थापन समितिका अध्यक्ष अभिषेक लिम्बूद्वारा हस्ताक्षरित परीक्षा नतिजा तालिकामा उल्लेख गरेको छ ।

सो परीक्षा संचालन लिम्बू भाषा एवं लिपी प्रशिक्षक स्वर्णिमहाङ फोम्बो (लिम्बू)ले सहजीकरण गरेका थिए ।

यस्तै सोही दिन श्री त्रिवेणी माध्यमिक विद्यालय बाह्रविसेमा कक्षा ११ र १२ मा अध्ययनरत ५४ जना विद्यार्थीहरुलाई लिम्बू भाषा शिक्षण तथा सिरिजङ्गा लिपी लेखन सम्बन्धि जानकारी दिन आयोजित कार्यक्रम प्रशिक्षक फोम्बाले संचालन गरेका थिए ।

सो कार्यक्रम सभापोखरी गाउँपालिका अध्यक्ष रत्न सुब्बाको उपस्थितिमा लिम्बू भाषा शिक्षणको लागि कक्षा १ देखि ८ सम्मका पाठ्यक्रम र पाठ्यपुस्तक किरात याक्थुङ चुम्लुङको सहयोगमा पाठ्यक्रम विकास केन्द्रबाट तयार भई विद्यालयहरुमा लिम्बू भाषा शिक्षण भई रहेको कियाचु केन्द्रीय सदस्य उतमकुमार लिङ्थेपले वताए ।

 

सम्बन्धित खवर