महाकवि देवकोटाको ११३औं जन्मजयन्तीको अवसरमा पुरस्कार घोषणा - Mangsebung News
  • शनिबार, जेठ ०५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

महाकवि देवकोटाको ११३औं जन्मजयन्तीको अवसरमा पुरस्कार घोषणा

  • डिल्लीश्वर मुसाहाङ अम्याङ्सा

दमक । दमक प्रज्ञा–प्रतिष्ठानले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३ औँ जन्मजयन्तीको अवसरमा फरक फरक विधामा योगदान पुयाएको भन्दै छ वटा पुरस्कारको घोषणा गरेको छ ।

विहिवार दमक स्थित पशुपति मन्दिरको सभाहलमा दमक प्रज्ञा प्रतिष्ठानको आयोजना र साहित्य कला संगमको सहआयोजनमा १ नं प्रदेश सभासद अर्जुन राईको प्रमुख आतिथ्यता, दमक नगरपालिका नगर प्रमुख रोमनाथ ओली र दमक नगरपालिका प्रमुख प्रशासकीय अधिकृत गणेश प्रसाद तिम्सिनाको विशेष आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रम सुरु हुनुअघि देवकोटाचोकमा अवस्थित महाकवि देवकोटाको प्रतिमामा अध्यक्ष हेम अधिकारी लगायतले माल्यर्पण तथा पुष्पगुच्छा अर्पण गरी महाकवि प्रति श्रद्धासमुन अर्पण गरेको थियो ।

देवकोटाको ११३ औ जन्म जयन्तीको अवसर पारेर दमक प्रज्ञा विशिष्ट प्रतिभा पुरस्कारबाट प्रा.डा. गोविन्दराज भट्टराईलाई प्रदान गरिने घोषणा गरिएको छ । यो पुरस्कारको राशी ५१ हजार रुपैँया रहेको छ ।

यसैगरि २१ हजार राशीको दमक प्रज्ञा संस्कृति पुरस्कार डा. सोमबहादुर धिमाललाई, २१ हजारकै दमक प्रज्ञा मातृभाषा साहित्य पुरस्कार रचना लाओतीलाई प्रदान गरिने निर्णय भएको अध्यक्ष अधिकारीले बताए ।
दमक प्रज्ञा कला साधना पुरस्कार चन्द्रा गड्तौलालाई प्रदान गरिने प्रतिष्ठानले घोषणा गरेको छ । यो पुरस्कारको राशी पनि २१ हजार नगद नै रहेको छ ।

यस्तै दमक प्रज्ञा विज्ञान तथा प्रविधि पुरस्कार जसहाङ लिम्बूलाई प्रदान गरिने भएको छ । जसको राशी पनि २१ हजारनै रहेको छ भने दमक प्रज्ञा बाल साहित्य पुरस्कार सेलिया श्रेष्ठलाई प्रदान गर्ने घोषणा गरिएको छ । यसको राशी भने १५ हजार रहेको छ ।

घोषित पुरस्कार दमक प्रज्ञा प्रतिष्ठानको स्थापना दिवसका दिन अर्थात आगामी मंसिर २५ गते प्रदान गरिने प्रतिष्ठान अध्यक्ष अधिकारीले बताए ।

कार्यक्रममा साहित्य क्षेत्रका सर्जकहरु मिश्र बैजन्तीले महाकवि देवकोटाको बाल्य अवस्था र सिर्जनाका बारेमा प्रकाश पानु भएको थियो भने साहित्यकार तिलोचन रिमालद्वारा देवकोटाको काव्यदेन बारेमा सामान्य जानकारी गराएका थिए । कार्यक्रममा बाल कलाकार रियाज रिजालले देवकोटाको कविता वाचन गरेका थिए ।

कार्यक्रम दमक प्रज्ञा प्रतिष्ठान अध्यक्ष हेमनाथ अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो भने सचिव विष्णु न्यौपानेले संचालन गरेका थिए ।

 

सम्बन्धित खवर