इलाममा अब ड्राइभिङ लाइसेन्सको परीक्षा हुने - Mangsebung News
  • शुक्रबार, असार २०, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

इलाममा अब ड्राइभिङ लाइसेन्सको परीक्षा हुने


इलाम । सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) को परीक्षा इलाम नै सञ्चालन हुने भएको छ । लाइसेन्सका लागि लिखित र प्रयोगात्मक (ट्रायल) इलाममा नै हुने आइतबार पत्रकार भेटघाट गरी यातायात व्यवस्था सेवा कार्यालय इलामले जनाएको छ ।

भौतिक पूर्वाधार मन्त्रालयबाट सवारी लाइसेन्सको परीक्षा संचालन गर्ने अनुमति प्राप्त भएको यातायात व्यवस्था सेवा कार्यालय इलामका कार्यालय प्रमुख छविलाल खतिवडाले जानकारी दिए । सातामा तीन पटक परिक्षा संचालन गरिने कार्यालय प्रमुख खतिवडाले बताए । ‘सवारी लाइसेन्सको अनलाइन फाराम भर्न तथा परीक्षा सञ्चालन गर्न मन्त्रालयबाट अनुमित प्राप्त भईसकेको छ’ कार्यालय प्रमुख खतिवडाले भने, ‘२७ गतेबाटै अनलाइन फाराम भर्न सुरु भईसकेको छ । सेवाग्राहीलाई मध्यनजर गर्दै सातामा ३ पटक परीक्षा संचालन गर्नेछौं ।’

खतिवडाका अनुसार एक चरणमा ‘ए’ वर्गको मोटरसाइकल, स्कुटर र मोपेडका लागि १ सय, ‘के’ वर्गको स्कूटर र मोडेडका लागि ४०, ‘बी’ वर्गको कार, जिप र डेलिभरी भ्यान लागि ३०, ‘सी’ वर्गको टेम्पो र अटोरिक्साका लागि २०, ‘जे वान’ वर्गको स्काभेटरका लागि २०, ‘जे टु’ वर्गको ब्याकहुलोडरका लागि १५ र ‘ई’ वर्गको ट्रयाक्टरका लागि १५ जनाको कोटा प्राप्त भएको छ । जसमध्ये तत्काल ‘ए’, ‘के’ र ‘बी’ वर्गको मात्र परीक्षा संचालन हुने खतिवडाले बताए । ‘आवश्यक जनशक्तिको अभावमा सुरुमा तीन वर्गको मात्र परीक्षा संचालन हुनेछ । जनशक्ति व्यवस्थापनपछि सबैको परीक्षा संचालन हुनेछ ।’

इलाममा नै परीक्षा हुने भएपछि सेवाग्राहीहरु उत्साहित भएका छन् । यसअघि सवारी लाइसेन्स लिन महिनौं कुनुपर्ने पूर्वी पहाडी जिल्लाका सेवाग्राहीहरुलाई सहज हुने भएको थियो । इलामसहित पाँचथर, ताप्लेजुङ र तेह्रथुमका सेवाग्राहीले सहजै सेवा लिन पाउने भएका छन् । यसअघि उनीहरु झापाको विर्तामोड र सुनसरीको इटहरीको यातायात कार्यालयसम्म धाउनुपर्ने बाध्यतामा थिए ।

कार्यालयले आफ्नै ट्रायल सेन्टर नभएका कारण एक नीजि कम्पनीसँग सम्झौता गरेर परीक्षा संचालन गर्ने तयारी गरेको छ ।

अब ‘सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन निर्देशिका, २०७७’ अनुसार परीक्षा संचालन हुने बताईएको छ । नयाँ निर्देशिकाअनुसार विभागले यसअघि नै परीक्षाका लागि वस्तुगत नमूना प्रश्न सार्वजनिक गरेको छ । विभागले ‘क’ ‘ख’ र ‘ट’ वर्गको मोटरसाइकल, स्कुटर सहित ‘ख’ वर्गको कार, जिप र डेलिभरी भ्यानको अनुमतिपत्रको लिखित परीक्षामा सोधिने प्रश्नपत्र सार्वजनिक गरिसकेको छ ।

लिखित परीक्षामा सवारी तथा यातायात व्यवस्थासम्बन्धी कानुनी प्रावधान, ट्राफिक नियमको पालना तथा सवारी साधनको प्राविधिक पक्षसम्बन्धी सामान्य व्यवहारिक ज्ञानका विषय समेटी पूर्णाङ्क १०० रहने गरी चार÷चार अङ्कका जम्मा २५ वस्तुगत बहुवैकल्पिक प्रश्न सोधिने जनाएको छ । मिनेटका परीक्षामा उत्तीर्ण हुन न्यूनतम ६० अंक ल्याउनुपर्ने छ । निर्देशिकामा प्रयोगात्मक परीक्षाका प्रावधानमा समेत परिमार्जन गरि उत्तीर्ण हुन न्यूनतम ७० अंक ल्याउनुपर्ने व्यवस्था गरेको छ ।

कार्यालयले यसअघि लाइसेन्स नवीकरण, नयाँ सवारी दर्ता नामसारी, सवारी दर्ता प्रमाण नवीकरण, बाटो ईजाजत पत्र (रुट परमिट) जारी गर्ने र नवीकरण गर्ने, सवारी साधनको प्राविधिक परीक्षण (जाँचपास) गर्ने, सवारी साधनको प्रदुषण परीक्षण गर्ने, यातायात सेवाको नाम पन्जिकृत गर्ने, सेवाग्राहीबाट सवारी साधनको कर राजश्व बुझिलिनेलगायतको काम गर्दै आएको छ ।

सम्बन्धित खवर